क्याम्पस प्रमुखको कार्यकक्षमा विद्यार्थीले लगाए ताला

Share this
732shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ असोज ६, आइतबार २०:२१

विराटनगर । मोरङको उर्लाबारी नगरपालिका–४ मा रहेको उर्लाबारी बहुमुखी क्याम्पसका प्रमुखको कार्यकक्षमा विद्यार्थीले आइतबार तालाबन्दी गरेका छन् ।

क्याम्पस प्रमुख नियुक्तिको विरोध गर्दै अनेरास्ववियुमा आबद्ध विद्यार्थीहरुले ताला लगाएका हुन् । क्याम्पस संचालक समितिको शनिबार बसेको बैठकले उर्लाबारी–४ का ५० वर्षीय खेमराज कार्कीलाई क्याम्पस प्रमुखमा पुनः नियुक्त गरेको थियो ।

कार्की यसअघि पनि क्याम्पस प्रमुख थिए । क्याम्पस प्रमुखमा निरन्तरता दिने निर्णय संचालक समितिले गरेपछि विद्यार्थी र संचालक समितिका केही सदस्यले विरोध गर्दै आएका थिए । त्यसकै विरोधमा विद्यार्थीले आइतबार बिहान १०ः३० बजेतिर क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका हुन् ।

क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरिए पनि पठनपाठन भने सुचारु रहेको बताइएको छ । ताला खोल्न सरोकारवालाहरुले पहल गरिरहेका छन् ।

क्याम्पस प्रमुख नियुक्त भएका कार्कीले चलाएको प्रदेश १–०१–०१६ प ८२३५ नम्बरको मोटरसाइकलबाट खसेर पछाडि सवार महिलाको मृत्यु भएको थियो । कानेपोखरी गाउँपालिका–७ स्थित चिसाङ पुलमा गत साउन ३२ गते दुर्घटना भएको हो ।

दुर्घटनामा परेर घाइते भएकी उर्लाबारी–४ की ४२ वर्षीया शर्मीला बोहोराको उपचारका क्रममा विराट शिक्षण अस्पतालमा भदौ ३ गते मृत्यु भएको थियो । कार्कीविरुद्ध सवारी ज्यान मुद्दा चलाएको थियो ।

कार्कीलाई अदालतले सफाइ दिइसकेको छ । उनको चरित्रमाथि प्रश्न उठिरहेका बेला पुनः क्याम्पस प्रमुख नियुक्त गरिएको भन्दै विरोध भइरहेको छ ।

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.