
काठमाडौं । मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङबाट प्रहरीले ६ किलो ४० ग्राम चरेसजस्तो पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय पालुङबाट प्रहरी निरीक्षक गोविन्दप्रसाद भण्डारीको कमान्डमा खटिएको प्रहरी टोलीले आइतबार बिहान करिब १ः४५ बजेतिर चित्लाङस्थित प्रहरी चेकपोस्टमा सवारीसाधन जाँच गर्ने क्रममा उक्त पदार्थ बरामद गरेको हो ।
प्रहरीका अनुसार गोरखा, चितवनको सौराहा र हेटौँडा हुँदै काठमाडौंतर्फ आउँदै गरेको बा. प्र.०१–०३५ च ४५६१ नम्बरको सेतो रङको गाडी जाँच गर्ने क्रममा पछाडिको डिक्कीमा राखिएको कालो लगेजभित्र लुकाइएको अवस्थामा पाँचवटा पोका फेला परेका थिए ।
सेतो प्लास्टिकले र्यापिङ गरी राखिएको उक्त पदार्थ प्लास्टिकसहित ६ किलो १४० ग्राम र प्लास्टिक हटाउँदा ६ किलो ४० ग्राम रहेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–३ स्थायी घर भई हाल बनेपा नगरपालिका–८ तीनदोबाटो बस्ने ३३ वर्षीय हेविन श्रेष्ठ र चितवनको भरतपुर महानगरपालिका–११ कोल्टाँडी स्थायी घर भई हाल भरतपुर–२ क्षेत्रपुर बस्ने २१ वर्षीया दिव्याश्री काफ्ले रहेका छन् । श्रेष्ठ गाडी चालक रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले दुवै जनासहित गाडी र बरामद पदार्थ नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

























