संघीयता कार्यान्वयन गर्न कानुनको अभाव छ : सभामुख घिमिरे

मुलुकी खबर
मुलुकी खबर
clock२०८१ आश्विन ७, सोमबार १०:५५

विराटनगर । सभामुख देवराज घिमिरेले संघीयता कार्यान्वयन गर्न कानुनको अभाव रहेको बताएका छन् ।

संविधान संशोधनको कुरा उठिरहेका बेला सभामुखले संघीयता कार्यान्वयन गर्न नै कानुन अभाव रहेको र संविधान संशोधन एवं कार्यान्वयनमा समस्या भइरहेको उल्लेख गरेका हुन् । कानुनलाई प्राथमिकता दिन खोजिए पनि संसदको पछिल्लो अधिवेशनमा कानुन बनाउन नसकिएको उनले बताए ।

Advertisement

विराटनगरमा विमानस्थलमा सोमबार संचारकर्मीसँग संक्षिप्त कुरा गर्दै घिमिरेले निजामती सेवा विधेयकमा ऐन बनाउन र प्रहरी संगठन संचालन सम्बन्धी ऐन, कानुन बनाउन नसकिएको बताए । ‘संविधान संशोधन संसदले गर्छ,’ उनले भने, ‘तर, संशोधन गर्ने प्रक्रियादेखि के विषयमा र कसरी तथा कहिले गर्नेजस्ता विषयमा वृहत्तर समझदारीको जरुरी छ ।’

संविधान संशोधन व्यक्ति, संगठन र संस्था विशेषको कुरा नभएकाले सरसल्लाह, बहस र छलफल आवश्यक रहेको उनको भनाइ छ । संविधान संशोधनका लागि राजनीतिक दलहरुबीच छलफल चलिरहेको पनि उनले स्पष्ट पारेका छन् ।

प्रतिकूल समयबीच पनि बजेटलाई समयभित्र पारित गर्दै टीआसरी विधेयक पासदेखि सहकारी ठगी प्रकरणलाई समाधान गर्र्न संसदले विशेष समिति बनाएर छानबिन गरी सरकारलाई प्रतिवेदन बुझाउनेजस्ता महत्वपूर्ण कामहरु भएको सभामुख घिमिरेको भनाइ छ ।

पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउको विषयमा आफूलाई जानकारी नभएको उनले बताए । नेकपा (माओवादी केन्द्र)ले संसद चल्न दिँदैनौं भनेको छ नि भनी पत्रकारले सोधेको प्रश्नमा घिमिरेले भने, ‘यो कुरा सल्टिसकेको छ ।’ संसदमा उपसभामुखमाथि सांसदहरुले पदीय आचरणविपरीत कुरा उठाएको बताउँदै घिमिरेले त्यो कुराको आधिकारिक पुष्टि नहुदै संसद अधिवेशन अन्त्य भएको उल्लेख गरे ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.