
इलाम । पूर्वी नाकाबाट चिया निर्यातमा वृद्धि भएको छ । झापाको मेची भन्सार नाकाबाट चालू आर्थिक वर्षको पहिलो २ महिनामा चियाको निर्यात ५२ प्रतिशतले बढेको हो
भन्सार कार्यालयका अनुसार साउन र भदौमा ४ हजार ४ सय १२ मेट्रिक टन चिया निर्यात भएको छ । यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ५२ प्रतिशतले बढी हो ।
चिया निर्यात बढेसँगै यसको मूल्य पनि बढेको छ । साउन र भदौमा १ अर्ब १३ करोड ३४ लाख १७ हजार रुपैयाँ बराबरको निर्यात भएको छ । यो अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा ६२ प्रतिशतले बढी हो ।
नेपाल चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुलीले दक्षिण भारतमा चिया उत्पादनमा कमी आएसँगै नेपालबाट चियाको निर्यात बढेको जानकारी दिए । नेपालमा उत्पादित चियाको मुख्य बजार भारत हो । त्यसबाहेक अमेरिका, जापान, चीनलगायतका मुलुकमा चिया र कफी निर्यात हुँदै आएको छ ।
इलामबाट सुरु भएको चिया खेती विस्तार भइ पाँचथर, झापा, ताप्लेजुङ, धनकुटा संखुवासभा, भोजपुर, तेह्रथुम तथा पश्चिमका केही जिल्लाहरुसम्म पुगेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जनाएको छ ।
नेपालमा उत्पादित चिया निर्यातबाट बर्सेनि ३ करोड ८० लाख रुपैयाँ बराबरको विदेशी मुद्रा आर्जन भइरहेको छ । नेपालमा उत्पादित चियामध्ये निकै थोरै परिमाण मात्र आन्तरिक बजारमा खपत हुन्छ ।
बोर्डका अनुसार मुलुकमा वार्षिक २ करोड ८० लाख किलोग्राम तयारी चिया उत्पादन हुँदै आएको छ । उक्त परिमाणमध्ये शून्य दशमलव ५० प्रतिशत चिया आन्तरिक बजारमा खपत हुने गरेको छ ।
नेपालमा २७ हजार ५ सय हेक्टर क्षेत्रफलमा चियाको खेती हुँदै आएको बोर्डले जनाएको छ । नेपालमा चिया उत्पादन गर्ने ३० अर्थोडक्स र ३८ सिटीसी गरी ६८ वटा ठूला चिया उद्योग छन् । तीबाहेक १ सय ५० भन्दा बढी साना अर्थाेडक्स प्रशोधन उद्योग सञ्चालनमा छन् ।
इलामको फिक्कलका चिया उद्यमी दिनेश अग्रवाल गुणस्तर वृद्धि गर्न सके चिया खेती दीगो र राम्रो आम्दानीको स्रोत बन्ने बताउँछन् । गुणस्तर वृद्धि गर्न सके नेपाली चियालाई भारतीय बजारको मात्र भर नपरी तेस्रो मुलुकमा समेत निर्यात गर्न सकिने उनको भनाइ छ ।
कोशी प्रदेश चियासहित व्यावसायिक कृषिका लागि नेपालकै मुख्य क्षेत्र हो । नेपालबाट निर्यात हुने अलैँची, चिया, अदुवा, अम्लिसो, तरकारीहरु, दूध, मासु, छुर्पी र जडिबुटीहरुको मुख्य उत्पादन यही प्रदेशमा हुने गरेको छ ।
नेपालबाट विदेश निर्यात हुने अलैँची ९० प्रतिशत, चिया ९९ र अदुवा ३३ प्रतिशतभन्दा ठूलो हिस्सामा प्रदेशको योगदान छ । देशको खाद्यान्न आपूर्तिको मुख्य क्षेत्र पनि यही प्रदेश हो । कोशी प्रदेशले आफूलाई पुर्याएर बढी भएको ३ लाख मेट्रिक टन भन्दा बढी खाद्यान्न देशको अन्न भण्डारमा योगदान दिने कृषि विज्ञहरु बताउँछन् ।



















