सवारी दुर्घटनामा मृत्यु भए के हुन्छ सजाय ? यस्तो छ कानुनी व्यवस्था

मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कार्तिक ६, मंगलवार ०६:००

विराटनगर । सडकको अवस्था र सवारी चापका कारण दैनिक जसो सवारी दुर्घटना भइरहेका छन् । दसैंको अवधिमा कोशी प्रदेशको १४ जिल्लामा भएको ६९ सवारी दुर्घटनामा मात्रै १४ जनाको मृत्यु भएको छ । सवारी दुर्घटना निरन्तर बढ्दो छ ।

यातायात तथा सवारीको नियमनका लागि सरकारले ‘सवारी तथा यातायात व्यवस्था ऐन २०४९ ’ जारी गरेकाे छ । ऐनमा सवारी दुर्घटनामा कसैकाे मृत्यु भए सजाय हुने प्रावधान दफा १६१ मा छ ।

Advertisement

नियतबस दुर्घटना गराएको प्रमाणित भए चालकलाई जन्मकैद सजाय हुन्छ । लापरवाही गरी सवारी चलाए  ३ वर्षदेखि १० वर्षसम्म सजाय हुन्छ । सतर्कता अपनाउँदा अपनाउँदै दुर्घटना भएर कसैको ज्यान गए त्यस्तो सवारी चालकलाई एक वर्षसम्म कैद हुने प्रावधान छ ।

लाइसेन्स नभएका व्यक्तिले सवारी दुर्घटना गराए त्यस्ताे सवारी धनीलाई पनि दुई वर्षसम्म कैद सजाय हुनसक्ने कानुनी व्यवस्था छ । 

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ दफा १६१ को उपदफा १ मा भनिएको छ,‘कसैले सवारी चलाई कुनै मानिसलाई किची, ठक्कर दिई वा कुनै किसिमले सवारी दुर्घटना गराई सवारीमा रहेको सवारी बाहिर जुनसुकै ठाउँमा रहे बसेको कुनै मानिस त्यस्तो दुर्घटनाको कारणबाट तत्कालै वा सोही चोटको परिणाम स्वरुप २१ दिनभित्र मरेमा त्यस्तो कार्य ज्यान मार्ने मनसाय लिई गरेको भए त्यसरी सवारी चलाउने व्यक्तिलाई जन्मकैद हुनेछ ।’

लापरबाही गरेर दुर्घटनामा मृत्यु भए दश वर्षसम्म कैद हुनसक्छ । दफा १६१ को उपदफा २ मा भनिएको छ ‘कसैको ज्यान मर्न सक्छ भन्ने अवस्था देखिँदा देखिँदै पनि अपनाउनु पर्ने सतर्कता नअपनाई कसैले लापरबाही गरी कुनै सवारी चलाएबाट कुनै मानिसलाई किची, ठक्कर लागि वा कुनै किसिमले सवारी दुर्घटना भई सवारीमा रहेको वा सवारी बाहिर जुनसुकै ठाउँमा रहे बसेको मानिस त्यस्तो दुर्घटनाको कारणबाट तत्कालै वा सोही चोटको परिणाम स्वरुप २१ दिनभित्र मरेमा त्यसरी सवारी चलाउने व्यक्तिलाई कसूरको मात्रा अनुसार ३ वर्षदेखि १० वर्षसम्म कैद र ३० हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म जरिवाना हुनेछ ।’

भुलबस भएको दुर्घटनामा मृत्यु भए १ वर्षसम्म कैद हुनसक्छ । साेही दफाकाे उपदफा ३ मा भनिएको छ,‘कसैको ज्यान मर्न सक्छ भन्ने जस्तो नदेखिएको अवस्थामा कसैले कुनै सवारी चलाउँदा सवारी दुर्घटना हुन गई सवारीमा रहेको वा सवारी बाहिर जुनसुकै ठाउँमा रहे बसेको कुनै मानिसको मृत्यु हुन गएको रहेछ भने त्यसरी सवारी चलाउने व्यक्तिलाई १ वर्षसम्म कैद वा २ हजार रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुनेछ ।’

सवारी चालक अनुमतिपत्र नभएका व्यक्तिले सवारी चलाई उपदफा (१) वा (२) बमोजिमको कसुर गरेमा त्यस्तो व्यक्तीलाई सोही उपदफा बमोजिम हुने सजायमा थप दुई हजार रुपैयाँसमेत जरिवाना हुनेछ । तर जन्मकैद सजाय भए त्यस्तो थप जरिवाना हुँदैन ।

लाइसेन्स विना सवारी चलाएर दुर्घटना भएर कसैको मृत्यु भए लाइसेन्स नभएको व्यक्तीलाई सवारी चलाउन दिने सवारीधनीलाई पनि दुई वर्षसम्म सजाय हुने प्रावधान छ ।

सवारी ऐन २०४९ को दफा १६१ को उपदफा ५ मा भनिएको छ,‘कुनै सवारीको धनी वा सवारीको जिम्मा लिएको व्यक्तिले चालक अनुमतिपत्र नभएको व्यक्तिलाई सवारी चलाउन दिई कुनै मानिसलाई किची, ठक्कर लागि वा दुर्घटना भई सो मानिस मर्न गएमा त्यस्तो सवारी चलाउन दिने व्यक्तिलाई दुई वर्षसम्म कैद हुनेछ ।’

यस्ताे छ कानुनी प्रावधान 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.