
विराटनगर । मोरङको ग्रामथान गाउँपालिका झोराहाटमा सञ्चालित रेमिट बचत तथा ऋण सहकारी संस्थाको निक्षेप (बचत) १५ करोड ३५ लाख ४७ हजार १ सय ६९ रुपैयाँ ८९ पैसा रहेको छ ।
सहकारीको १२ औं वार्षिक साधारणसभाको उद्घाटन सत्रमा सहकारीकी अध्यक्ष उमा घिमिरेले प्रतिवेदन पेस गर्दै सहकारीले आर्थिक वर्ष २०८१/०८२ मा निक्षेप बढाएर १८ करोड ५० लाख पुर्याउने लक्ष्य राखेको जानकारी दिइन् । सहकारीको सेयर पुँजी ३ करोड ५६ लाख २६ हजार ६ सय रुपैयाँ रहेको छ । सेयर पुँजी आर्थिक वर्ष २०८१/०८२ मा ४ करोड पुर्याउने लक्ष्य छ ।
सहकारीले ३८ लाख ४ हजार ४ सय ९७ रुपैयाँ ५० पैसा नाफा कमाएको जानकारी दिइएको छ । सहकारीले धितोमा २० लाखसम्म र जवानी धितोमा ५ लाखसम्म ऋण लगानी गर्ने गरेको अध्यक्ष घिमिरेले बताइन् । सहकारीमा १ हजार ७ सय ५० महिलासहित ३ हजार सेयर सदस्य रहेका छन् । साधारणसभामा लेखा समितिको प्रतिवेदन समितिकी सदस्य निर्मला आचार्यले प्रस्तुत गरिन् ।
वार्षिक साधारणसभामा बोल्दै कोशी प्रदेशसभा सदस्य ललिताकुमारी चौधरीले सहकारी गरिबहरुको साहारा बनेको बताइन् । थोरै रकम जम्मा गरेर आवश्यक परेको बेलामा सजिलै लिनसक्ने माध्यम सहकारी रहेको उनको भनाइ छ ।
‘बैंकले गरिबलाई पत्याउँदैनन् । थोरै रकम राख्न पनि समस्या हुन्छ’, उनले भनिन्, ‘सहकारीमा ५ सयसमेत जम्मा गरेर राख्न सकिन्छ । आवश्यक परेको बेला निकाल्न तथा ऋणसमेत सजिलै लिन सकिने भएकाले पिछडिएका जनताको लागि सहकारी साहारा बनेको छ ।’ स्वार्थले सञ्चालन गरिएका सहकारीमा समस्या आएका कारण राम्रा सहकारीलाई हेर्ने दृष्टिकोण पनि बदलिएको चौधरीले बताइन् ।
गरिबको पसिनाको पैसा अपचलन गर्नेहरुलाई कारबाही हुनुपर्ने उनको भनाइ छ । सहकारीले सरकारले प्रभावकारी नियमन गर्नेतर्फ ध्यान दिनुपर्ने उनले बताइन् ।
यसैबीच, साधारणसभाको अवसरमा जेष्ठ सदस्य, असल बचतकर्ता, असल ऋणी, एसईईमा उत्कृष्ट अंक ल्याएर उत्तीर्ण हुने छात्र/छात्रा र पत्रकारलाई सम्मान गरिएको छ । जेष्ठ सदस्यहरु लीलानाथ खतिवडा, इन्द्रलाल खाँ र पार्वतीदेवी कोइराला सम्मानित भएका छन् । त्यस्तै ऋणीतर्फ सावित्रादेवी बराल र कमल साह सम्मानित भएका छन् ।
बचततर्फ गोपालप्रसाद खतिवडालाई सम्मान गरिएको छ । सेयर सदस्यका छोराछोरीमध्ये एसईईमा उत्कृष्ट नम्बर ल्याउने अनुस्कृति खतिवडा र युगेश खनाल सम्माति भएका छन् ।
सहकारीले हरेक बर्ष एक जना पत्रकारलाई सम्मान गर्दै आएको छ । यो वर्ष सहकारी पत्रकारिता पुरस्कारबाट विराटनगरकी पत्रकार चीना थापालाई सम्मान गरिएको सहकारीले जनाएको छ ।

























