रवि लामिछानेलाई भैरहवा लगेर सरकारी वकिल कार्यालय पुर्याइयो

Share this
751shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक २७, मंगलबार १३:३५

बुटवल । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भैरहवा लगेर जिल्ला सरकारी वकिल कार्यालय रुपन्देही पुर्याइएको छ ।

सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि पक्राउ परेका उनलाई मंगलबार पोखराबाट बुद्ध एअरको जहाजमार्फत भैरहवा पुर्याइएको हो । सरकारी वकिल कार्यालयमा रविको बयान हुने छ ।

जिल्ला अदालत रुपन्देहीले रविसहित १२ जनालाई पक्राउका लागि अनुमति दिएको थियो । उनी कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका हुन् । अहिलेसम्म कास्की प्रहरीकै हिरासतमा थिए ।

जिल्ला अदालत कास्कीले चौथोपटक म्याद थप गरेको थियो । बुटवलस्थित सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको १४ करोड २९ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रा.लिमा लगेर खर्च गरेको कसुरमा अनुसन्धान गर्न रविलाई रुपन्देही लगिएको हो ।

संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनले १ करोड ९६ लाख रविकै नाममा गएको देखाएको छ । सहकारीका अध्यक्ष जीबी (गितेन्द्रबाबु) राई फरार छन् । नेपाल प्रहरीका पूर्वडीआईजी एवं गोर्खा मिडिया नेटवर्कका उपाध्यक्ष छविलाल जोशी बञ्जाडेलाई यसअघि नै रुपन्देही लगेर बयान लिइसकिएको छ । उनी अहिले कास्की प्रहरीकै हिरासतमा छन् ।

सहकारी ठगीमा प्रहरीले २८ जनालाई प्रतिवादी बनाउँदा रवि गृहमन्त्री थिए । उनलाई त्यतिबेला प्रतिवादी बनाइएको थिएन ।

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.