
रुपन्देही । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग तेस्रो दिन आज (बिहीबार) पनि बयान लिइने भएको छ ।
सरकारी वकिल र प्रहरी अधिकारीको उपस्थितिमा बुधबार बिहान करिब १०ः१५ बजेबाट सुरु भएको बयान साँझ ७ बजेसम्म लिइएको थियो । नसकिएपछि आज फेरि कार्यालय समयमा उनलाई.बयानका लागि सरकारी वकिलको कार्यालय लगिने प्रहरीले जनाएको छ ।
रुपन्देहीको बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम अपचलन गरेको आरोपमा लामिछानेलाई बयानका लागि मंगलबार पोखराबाट रुपन्देही लगिएको हो । बयानका क्रममा लामिछानेले आफूमाथि लागेको आरोप अस्वीकार गर्दै आएका छन् ।
उनलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीको हिरासतमा राखिएको छ । सरकारी वकिलको कार्यालयमा उनको लिखित बयान भइरहेको हो । स्रोतका अनुसार बयान लिने काम आज सकिने सम्भावना छ ।



















