कर सप्ताह सुरु, विराटनगरमा प्रभातफेरी

Share this
756shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर १, शनिबार ११:३४

विराटनगर । आन्तरिक राजस्व कार्यालय विराटनगरले १३ औं राष्ट्रिय कर दिवस तथा कर सप्ताहका अवसरमा प्रभातफेरी निकालेको छ । ‘कर प्रणालीको सार, लगानीको आधार भन्ने मूल नाराका साथ सप्ताहव्यापी कर दिवस आजदेखि सुरु भएको हो ।

कर दिवस तथा कर सप्ताहको अवसरमा आज बिहान आन्तरिक राजस्व कार्यालय विराटनगरले सचेतनामूलक प्लेकार्डसहितको प्रभातफेरी निकालिएको छ । कार्यालयबाट निकालिएको प्रभातफेरीले नगरका विभिन्न भागको परिक्रमा गरेको थियो ।

प्रभातफेरीमा सहभागीहरुले कर प्रणालीको सार, लगानीको आधार, करदाताको सही पहिचान, समृद्ध निर्माणमा सबैको योगदान, यथार्थ कर, विकासको भर, मान्नु पर्दैन प्रशासनको डर, स्वच्छ कर प्रशासन विकास र सुशासन, नलुकाउ आय तिरौं कर, देश विकासको दिगो भर र करको चर्चा घर घरमा गरौं भन्ने प्लेकार्डसहित र्यालीमा सहभागी भएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले राज्यको नीतिगत व्यवस्थाका कारण करको अवस्था चित बुझ्दो नभएको बताए ।

सो अवसरमा उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुराना, मोरङ उद्योग व्यापार संघका वरिष्ठ उपाध्यक्ष अनिल साह, विराट व्यापार संघका अध्यक्ष अंशु बन्जारा, नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष दीपक पौडेलले देशको आर्थिक अवस्था नाजुक रहेको भन्दै आर्थिक अवस्था चलायमान बनाउन सरकार लाग्नु पर्ने बताए । कर तिर्ने वातावरण राज्यले खडा गर्नुपर्ने उनीहरुको भनाई छ ।

त्यस्तै, प्रमुख कोष नियन्त्रक तोमनाथ उप्रेतीले करदाता उत्प्रेरित भएर कर तिर्न जागरुक हुन् भन्ने उद्देश्यले २०६९ साल मंसिर १ गतेदेखि कर दिवस मनाउन सुरु गरिएको बताउँदै कानुन बमोजिमभन्दा बढी कर लगाउन नपाइने धारणा राखे ।

विराटनगर भन्सार कार्यालयका प्रमुख ज्ञानेन्द्रराज ढकालले कर प्रणाली सुधारका लागि कर दातामैत्री बनाउनु पर्ने भन्दै करदातालाई कर तिर्न प्रोत्साहित गर्नुपर्नेमा जोड दिए ।

आन्तरिक राजस्व कार्यालय विराटनगरका प्रमुख भूपालराज शाक्यले आयात घटेका कारण ‘रेभिन्यू’ रास्जवमा केही कमी आए पनि आत्तिने अवस्था नरहेको बताए । कर दाता मैत्री नीति राज्यले लिएको छ । कर धम्की वा डरले लिनेभन्दा पनि फकाएर स्वच्छाले कर तिर्ने वातावरण बनाउनु पर्ने उनले बताए ।

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.