
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरूविरूद्ध दर्ता भएको अदालतको अपहेलना सम्बन्धी मुद्दामा आज (मंगलबार) सुनुवाइ हुँदै छ ।
सुनुवाइका लागि सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्मा र नृपध्वज निरौलाको संयुक्त इलजासमा पेसी तोकिएको हो । पेसी ६ नम्बरमा छ । रास्वपा नेताले अदालतको अपहेलना गरेको दाबीसहित अधिवक्ता अनुपम भट्टराईले निवेदन दर्ता गराएका थिए ।
सर्वोच्चकै आदेशबाट निवेदन दर्ता भएको हो । त्यसअघि उक्त निवेदन सर्वोच्च प्रशासनले दरपिठ गरिदिएको थियो । पूर्वगृहमन्त्री एवं पार्टी सभापति रवि लामिछानेमाथि सहकारीको रकम हिनामिनामा अनुसन्धान प्रक्रिया चलिरहँदा रास्वपा नेताहरुले अदालतको गतिविधिविरुद्ध आन्दोलन गरेको जिकिर निवेदनमा गरिएको छ ।
उक्त निवेदनमा अदालतलाई दबाब दिने उद्देश्यले अभिव्यक्ति दिने, आन्दोलन गर्ने र जनमासलाई उचाल्दै न्याय प्रक्रियामा अवरोध गर्न खोजिएको उल्लेख छ । निवेदनमा रास्वपाका केन्द्रीय नेताहरु स्वर्णिम वाग्ले, मनिष झा, सुमना श्रेष्ठ, अशोककुमार चौधरी, विराजभक्त महर्जन, तोसिमा कार्की, असिम शाह, गणेश पराजुली, सोविता गौतमलगायतलाई विपक्षी बनाइएको छ ।

























