
विराटनगर । विराटनगरबाट अवैध चाँदीसहित प्रहरीले १ जनालाई आज (बिहीबार) पक्राउ गरेको छ ।
विराटनगर महानगरपालिका–१ का ३१ वर्षीय इन्द्रजित विश्वाकर्मालाई अवैध चाँदीसहित पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ ।
नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत विराटनगर–१७ हुँदै आज (बिहीबार)नेपाल भित्र्याउँदै गर्दा अवैध चाँदीसहित विश्वकर्मा पक्राउ परेका हुन् ।
भारतबाट विराटनगरतर्फ आउँदै गरेको को २९ प ५६०३ नम्बरको मोटरसाइकल अवैध चाँदी ल्याइँदै भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयको टोलीले चेक गर्दा चाँदीको बुनिया ३७४.८ सय (ग्राम) फेला परेको थियो । बरामद गरिएको चाँदी करिब ५८ हजार रुपैयाँ रहेको छ ।
विश्वकर्मालाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ । बुधबार मात्रै विराटनगरबाट १ लाख २८ हजार बराबरको चाँदीका गहनासहित एक जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

























