विराटनगर । नेपाल कानुन व्यवसायी परिषद् (नेपाल बार काउन्सिल)को पार्षद चयनका लागि आज (शनिबार) निर्वाचन हुँदैछ । परिषद्को पार्षदमा ७ वटै प्रदेशबाट १–१ जना निर्वाचित हुने प्रावधान छ ।
निर्वाचनका लागि ७ वटा प्रदेशबाट १४ जनाको उम्मेदवारी दर्ता भएकोमा ७ जना निर्वाचित हुने छन् । प्रत्येक प्रदेशमा २–२ जनाको उम्मेदवारी परेको छ ।
निर्वाचनका लागि नेकपा (एमाले)निकट पीपीएलए, नेकपा (माओवादी केन्द्र)निकट आरपीएलए, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपानिकट पीएलए, मोहन वैद्यनिकट एनपीएलए र जनता समाजवादी पार्टी (जसपा)निकट एफएलएसहितको ‘प्रगतिशील, गणतान्त्रिक, समाजवादी, स्वतन्त्र, देशभक्त, समावेशी’ गठबन्धन बनेको छ । नेपाली कांग्रेस निकट डीएलए र नेकपा (एकीकृत समाजवादी)निकट एसपीएलएको अर्को गठबन्धन छ ।
कोशी प्रदेशमा १ जना पार्षदका लागि २ जना प्रतिस्पर्धामा छन् । कोशीमा प्रगतिशील, गणतान्त्रिक, समाजवादी, स्वतन्त्र, देशभक्त, समावेशी गठबन्धनबाट बालकृष्ण आचार्य तथा डीएलए-एसपीएलए गठबन्धनबाट राजु ढकाल उम्मेदवार छन् ।
कोशीमा दुवै गठबन्धनको मतदाता संख्या लगभग बराबर छन् । जसका कारण बार काउन्सिलको चुनावमा कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । कोशी प्रदेशमा हुने निर्वाचनमा ९ सय ६६ जना मतदाताले मतदानमा भाग लिन पाउने छन् ।
कोशीमा बार काउन्सिलको निर्वाचनका लागि इलाम, गाईघाट, झापा, धनकुटा र विराटनगरमा मतदान केन्द्र तोकिएको छ । प्रदेश राजधानी विराटनगरमा हुने मतदानका लागि उच्च अदालत बार एसोसिएसन विराटनरका अध्यक्ष विश्वराम भट्टराईलाई प्रमुख निर्वाचन अधिकृत तोकिएको छ ।
मोरङ जिल्ला अदालत बार एसोसिएसनका अध्यक्ष हरिशंकर मण्डल र उच्च अदालत बार एसोसिएसन विराटनरका सचिव विनोदकुमार तिमल्सिना निर्वाचन अधिकृत छन् । निर्वाचन कार्यतालिका अनुसार मतदान बिहान १० बाट सुरु भएर अपरान्ह ४ बजे सकिने छ ।
नेपाल कानुन व्यवसायी परिषद् (नेपाल बार काउन्सिल)ले कानुन व्यवसायीको लाइसेन्स वितरण तथा खारेजी, कानुनी शिक्षा, कानुन व्यावसायीको आचारसंहितालगायतका क्षेत्रमा काम गर्छ ।