
काठमाडौं । नेपाल बार एसोसिएसनको नयाँ नेतृत्व चयनका लागि आज (शनिबार) निर्वाचन हुँदैछ । बारको अध्यक्षमा वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठ र वरिष्ठ अधिवक्ता प्रा.डा. विजयप्रसाद मिश्रसहित ५ जना प्रतिस्पर्धामा छन् ।
बारको केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि व्यावसायिक कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता श्रेष्ठ र वृहत लोकतान्त्रिक, प्रगतिशील, पेसागत, राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता मिश्रले अध्यक्षमा उम्मेदवारी दिएका हुन् । श्रेष्ठ र मिश्र अलगअलग प्यानल बनाएरै मैदानमा उत्रिएका छन् ।
अरु ३ जना स्वतन्त्र उम्मेदवार हुन् । बारको नयाँ नेतृत्व चयनका लागि बिहान ८ बजेपछि मतदान सुरु हुने छ । न्यायालयको सुधारका लागि श्रेष्ठ र मिश्रले आ–आफ्नो प्रतिबद्धतासमेत सार्वजनिक गरेका छन् ।
अध्यक्षका उम्मेदवार श्रेष्ठले नेपाल बारको संस्थागत सुधार र कानुन व्यवसायीको क्षमतमा अभिवृद्धिमा ध्यान दिने प्रतिबद्धता जनाएका छन् । श्रेष्ठ समूहको प्रतिबद्धतामा कानुन व्यवसायीको व्यावसायिक हकहित, इज्जत प्रतिष्ठा र व्यावसायिक सुरक्षा तथा स्वतन्त्र, सक्षम, जवाफदेहीता न्यायापालिका र भ्रष्टाचारमुक्त न्यायालय, कानुन व्यवसायीलाई सूचना प्रविधिमा दक्ष बनाउने कार्यक्रम सञ्चालन गर्ने लगायत रहेका छन् ।
अध्यक्षका अर्का उम्मेदवार मिश्रको समूहले बारको संस्थागत, संरचनागत र नीतिगत सुधार गर्नका लागि आवश्यक कदम चाल्न, सशक्त, प्रभावकारी एवं कार्यमुखी बार निर्माण गर्नलाई उम्मेदवारी दिएको उल्लेख गरेको छ । बलियो र सशक्त दबाबद्वारा प्रभावकारी भूमिका निर्वाह गर्न, संवैधानिक सर्वोच्चता, विधिको शासन, स्वतन्त्र न्यायापालिका, मानव अधिकार र पेसागत हकहितको संरक्षण गर्न, नवोदित युवा र महिला कानुन व्यवसायीका लागि विशेष नीति, योजना र कार्यक्रम सञ्चालन गर्ने लगायतका प्रतिबद्धता मिश्र समूहको छ ।
कृत्रिम बैद्धिकताका अवसरलाई उपयोग गर्दै चुनौतीको सामना गर्न, प्राज्ञिक, व्यावसायिक र अनुसन्धानमूलक संस्थाको रुपमा नेपाल बारलाई विकसित गर्न तथा समग्र कानुन प्रणालीको सुधारका लागि दबावमूलक कार्यक्रम निरन्तर सञ्चालन गर्न उम्मेदवारी दिएको दाबी मिश्रको समूहले गरेको छ । बारको अध्यक्षका लागि समूहगत २ र स्वतन्त्र ३ जना गरी ५ जनाको उम्मेदवारी परेको छ ।
वरिष्ठ अधिवक्ताहरु श्रेष्ठ र मिश्रसहित अधिवक्ता राजु कैती, उज्वल घिमिरे र आषिश पौडेलले अध्यक्ष पदका लागि उम्मेदवारी दिएका छन् । तर, मुख्य प्रतिस्पर्धा श्रेष्ठ र मिश्रबीच हुने अनुमान गरिएको छ ।
श्रेष्ठको समूहमा अधिवक्ता यज्ञमणि न्यौपाने र मिश्रको समूहबाट वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइराला महासचिवका उम्मेदवार छन् । प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता रामकृष्ण निरालाका अनुसार बारको निर्वाचनमा ९ हजार ९ सय ५७ जनाले मतदान गर्न पाउने छन् ।
नयाँ कार्यसमितिका लागि ५७ जनाको उम्मेदवारी परेको छ । निर्वाचनका लागि काठमाडौं र बाहिर गरी जम्मा ३६ वटा मतदान केन्द्र तोकिएको छ ।
सर्वोच्च अदालत परिसरमा रहेको काठमाडौंको मतदान केन्द्रमा ६ हजार मतदाता छन् । मतदानको समय दिउँसो ४ बजेसम्मलाई तोकिएको छ ।

























