
काठमाडौं । कानुन व्यवसायीहरुको साझा संस्था नेपाल बार एसोसिएसनको नयाँ नेतृत्व चयनका लागि अहिले केही बेरअघि मतदान सुरु भएको छ ।
बारको नयाँ नेतृत्व चयनका लागि आज (शनिबार) निर्वाचनको समय तोकिएको थियो । मतदानको समय अपरान्ह ४ बजेसम्मलाई तोकिएको छ । निर्वाचनमा ९ हजार ९ सय ५७ जनाले मतदान गर्न पाउने छन् ।
नयाँ कार्यसमितिका लागि अध्यक्षमा ५ जनासहित ५७ जनाको उम्मेदवारी परेको छ । निर्वाचनका लागि काठमाडौं र बाहिर गरेर ३६ वटा मतदान केन्द्र तोकिएको छ ।

अधिकांश केन्द्रमा मतदान सुरु भएको जनाइएको छ । बारको अध्यक्षमा वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठ र वरिष्ठ अधिवक्ता प्रा.डा. विजयप्रसाद मिश्रसहित ५ जना प्रतिस्पर्धामा छन् । श्रेष्ठले व्यावसायिक कानुन व्यवसायी समूहबाट र मिश्रले वृहत लोकतान्त्रिक, प्रगतिशील, पेसागत, राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहबाट प्यानलै बनाएर उम्मेदवारी दिएका हुन् ।
अरु ३ जना स्वतन्त्र उम्मेदवार हुन् । बारको अध्यक्षका लागि समूहगत २ र स्वतन्त्र ३ जना गरी ५ जनाको उम्मेदवारी परेको हो । वरिष्ठ अधिवक्ताहरु श्रेष्ठ र मिश्रसहित अधिवक्ता राजु कैती, उज्वल घिमिरे र आषिश पौडेलले अध्यक्ष पदका लागि उम्मेदवारी दिएका हुन् ।
तर, मुख्य प्रतिस्पर्धा श्रेष्ठ र मिश्रबीच हुने अनुमान गरिएको छ । श्रेष्ठको समूहबाट अधिवक्ता यज्ञमणि न्यौपाने र मिश्रको समूहबाट वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइराला महासचिवका उम्मेदवार छन् ।


























