
काठमाडौं । रियल मड्रिडलाई पराजित गर्दै बार्सिलोनाले कोपा डेल रेको उपाधि जितेको छ ।फाइनल खेलमा ३–२ गोल अन्तरले ले हराउँदै उपाधि जितेको हो ।
अतिरिक्त समय सकिन चार मिनेट बाँकी रहँदा बार्सिलोनाका लागि जुलोस कुन्डेले निर्णायक गोल गरेका थिए । ८४ औँ मिनेटसम्म २–१ ले पछि परेको बार्सिलोनालाई खेलमा फर्काउनका लागि फेरान टोरेसले गोल गरेका थिए ।
खेलको २८ औँ मिनेटमा पेड्री गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए ।
केलिएन एम्बाप्पेले ७० औं मिनेटमा फ्रिकिकमा गोल गर्दै रियललाई बराबरीमा ल्याए । त्यसकाे सात मिनेटपछि नै एसियल थाउचेमेनीले गाेल गर्दै रियललाई २- १ काे अवस्थामा पुर्याए । ११६ औं मिनेटमा जुलोस कुन्डेले गोल गर्दै बार्सिलोनाकाे कीर्तिमानी ३२औं कोपा डेल रे उपाधि सुनिश्चित गरे ।
बार्सिलोनाले यस सिजनका तीनै क्लासिकोमा रियललाई पराजित गरेको छ । जनवरीमा स्पेनिस सुपर कपको फाइनलमा ५–२ र अक्टोबरमा लिग खेलमा रियललाई ४–० ले हराएको थियो ।

























