
एजेन्सी । फुटबल मैदानमा विपक्षी गोलकिपरसँगको ठक्करपछि गम्भीर घाइते भएका स्पेनिस फुटबलर जिसस डे मिगेलको निधन भएको छ । ३० वर्षीय फरवार्डको उपचारका क्रममा निधन भएको उनको क्लब टेनेरिफले मंगलबार पुष्टि गरेको हो ।
सोमबार टेनेरिफ र एन्डोराबीचको खेलका क्रममा दुर्घटना भएको थियो । २–२ को बराबरीमा चलिरहेको खेलको अतिरिक्त समयको सातौँ मिनेटमा बल नियन्त्रण गर्ने क्रममा मिगेल एन्डोराका गोलकिपर जिसस ओवोनोसँग ठोक्किएका थिए ।
ठक्करका क्रममा ओवोनोको घुँडा र मिगेलको छातीमा लागेको थियो । उनी मैदानमै ढलेपछि तत्कालै मेडिकल टोलीले उपचार सुरु गरेको थियो । घटनापछि रेफ्रीले गोलकिपरलाई रातो कार्ड देखाएका थिए भने खेल स्थगित गरिएको थियो ।
स्पेनिस सञ्चारमाध्यमका अनुसार अस्पताल लैजाने क्रममा एम्बुलेन्समै मिगेललाई हृदयाघात भएको थियो । उनलाई सान्ता क्रुजस्थित विश्वविद्यालय अस्पतालको सघन उपचार कक्षमा भर्ना गरिएको थियो ।
क्लबले मंगलबार शोक वक्तव्य जारी गर्दै मिगेलको निधनले स्तब्ध भएको जनाएको छ । क्लबले शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै यस कठिन घडीमा परिवारको गोपनीयताको सम्मान गर्न आग्रह गरेको छ ।
सन् २०१५ बाट व्यावसायिक फुटबल सुरु गरेका मिगेलले स्पेनका विभिन्न क्लबबाट खेलेका थिए । सन् २०२३–२४ को सिजनमा १६ गोल गर्दै आफ्नो टोलीलाई दोस्रो डिभिजनमा उकास्न उनले महत्त्वपूर्ण भूमिका खेलेका थिए ।

























