मिलरको ९३ रन खेर, सुदूरपश्चिमसँग कर्णाली ३९ रनले पराजित

Share this
666shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २०, शुक्रबार १६:१२

काठमाडौं । दक्षिण अफ्रिकी अनुभवी ब्याटर डेभिड मिलरले नेपाल प्रिमियर लिग (एनपीएल) मा डेब्यु खेलमै अविजित ९३ रनको शानदार पारी खेले पनि कर्णाली याक्सलाई जित दिलाउन सकेनन्। शुक्रबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा भएको खेलमा सुदूरपश्चिम रोयल्सले कर्णालीलाई ३९ रनले पराजित गरेको छ।

सुदूरपश्चिमले दिएको १७७ रनको लक्ष्य पछ्याएको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३७ रन मात्रै बनाउन सक्यो। मिलरले एकतर्फबाट आक्रामक ब्याटिङ गरे पनि अन्य ब्याटरले साथ दिन नसक्दा कर्णालीले लक्ष्य भेट्टाउन सकेन।

कर्णालीका लागि मिलरले ५५ बलमा ५ चौका र ७ छक्का प्रहार गर्दै अविजित ९३ रन बनाए। विकेटकिपर दीपक डुम्रेले १२ बलमा ३ चौका र एक छक्कासहित १८ रन जोडे। अन्य ब्याटरले दोहोरो अंकको स्कोर बनाउन सकेनन्।

सुदूरपश्चिमका लागि स्कट कुगेलेइनले सर्वाधिक २ विकेट लिए। हेमन्त धामी, अनिल खरेल, कप्तान दीपेन्द्रसिंह ऐरी, थरिन्दु रत्नायके र अविनाश बोहराले समान एक–एक विकेट हात पारे।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ६ विकेट गुमाउँदै १७६ रन बनाएको थियो। टोलीका ओपनर सैफ अली जैब र विनोद भण्डारीले पहिलो विकेटका लागि ६८ रनको साझेदारी गर्दै बलियो सुरुवात दिलाएका थिए।

जैबले २४ बलमा ४ चौका र एक छक्काको मद्दतमा सर्वाधिक ३५ रन बनाए। विनोदले २२ बलमा २ चौका र २ छक्कासहित २७ रन जोडे। विनोद आठौँ ओभरमा रनआउट भए भने नवौँ ओभरमा जैब पनि आउट भए।

मध्यक्रममा ब्रान्डन म्याकमुलेनले १६ बलमा २४ रन र इशान पाण्डेले १३ बलमा ३ छक्कासहित २३ रन बनाए। कप्तान दीपेन्द्रसिंह ऐरी १० तथा आरिफ शेख ११ रनमा आउट भए।

अन्तिम ओभरहरूमा थरिन्दु रत्नायके र स्कट कुगेलेइनले आक्रामक ब्याटिङ गर्दै टोलीको स्कोर उकासे। रत्नायकेले १२ बलमा ३ चौका र एक छक्कासहित अविजित २२ रन बनाए। कुगेलेइनले ६ बलमा २ चौका प्रहार गर्दै अविजित १३ रन जोडे। सुदूरपश्चिमले अन्तिम पाँच ओभरमा ५७ रन थपेको थियो।

बलिङतर्फ कर्णालीका मार्क वाटले २ विकेट लिए भने नन्दन यादव, हुसेन तलत र सूर्य तामाङले समान एक–एक विकेट लिए।

यस जितसँगै पाँच खेलबाट ३ जित हासिल गरेको सुदूरपश्चिम ६ अंकसहित अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ। चार खेल खेलेको कर्णालीको भने यो लगातार दोस्रो हार हो। दुई जितबाट ४ अंक जोडेको कर्णाली पाँचौँ स्थानमा झरेको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.