मोरङको सुन्दरहरैँचामा शंकास्पद ठेक्का : मिलेमतोमा गछिया र बूढी खोलाको दोहन

Share this
731shares
मुलुकी खबर
किशोर बुढाथोकी
clock२०८२ जेष्ठ ९, शुक्रबार १८:०८

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिकाले गछिया र बूढी खोलाबाट नदीजन्य पदार्थ उत्खननका लागि शंकास्पद हिसाबले ठेक्का लगाएको पाइएको छ ।

चालु आर्थिक वर्ष २०८१–०८२ का लागि ठेक्का प्रक्रिया अनियमित रुपमा अघि बढाइएको फेला परेको हो । ठेक्का प्रक्रियामा मेयर केदारप्रसाद गुरागाईं, प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेलगायतको भूमिका शंकास्पद देखिएको छ । उनीहरुकै मिलेमतो र संरक्षणमा दुवै खोलामा निस्फिक्री दोहन भइरहेको छ । यसमा सरोकारवालाले प्रश्न उठाइरहेका छन् ।

हालसम्म प्राविधिकसहितको टोलीले खोलाको स्थलगत अनुगमन १ पटक मात्रै गरेको देखिन्छ । त्यो पनि झारा टार्ने हिसाबले गरिएको स्रोतले जानकारी दिएको छ । ‘ठेक्का लगाएको लामो समयसम्म १ पटक मात्रै अनुगमन भयो’ स्रोतले भन्यो, ‘त्यो पनि शंकास्पद देखिन्छ ।’

नदीजन्य पदार्थ उत्खनन, संकलन तथा बिक्रीका लागि ठेकेदार कम्पनी सुन्दरहरैँचा नगरपालिका–४ को एनपी निर्माण सेवा र नगरपालिकाबीच २०८१ असोज १३ गते दुवै खोलाको ठेक्का सम्झौता भएको थियो । कम्पनीले असोज १४ देखि २०८२ जेठ ३१ गतेसम्म नदीजन्य पदार्थ उत्खनन र संकलन गर्ने सम्झौतामा उल्लेख छ । गछिया खोला ३ करोड ८८ लाख ३१ हजार र बूढी खोला ६६ लाख ९५ हजार रूपैयाँमा ठेक्का लागेको हो ।

गछियामा विभिन्न १२ वटा नाकाबाट ढुंगा, रोडा र ग्राबेल ८ हजार १ सय ९८ दशमलव ७५, गिट्टी ३६ हजार ९ सय ४६ दशमलव ५ र बालुवा ७६ हजार ५ सय ८८ दशमलव ६६ गरेर १ लाख २१ हजार ७ सय ३३ दशमलव ९ घनमिटर नदीजन्य पदार्थ उत्खननको सम्झौता छ ।

बूढी खोलामा विभिन्न ४ वटा नाकाबाट ढुंगा र रोडा २ हजार ६ सय ३ दशमलव ११, गिट्टी ५ हजार ४ सय ३६ दशमलव ०८, बालुवा ९ हजार ९ सय ५५ दशमलव ८९ र भरौट १२ हजार ८ सय ४२ गरेर ३० हजार ८ सय ३६ दशमलव ६२ घनमिटर नदीजन्य पदार्थ उत्खननको सम्झौता भएको थियो ।

जथाभावी उत्खनन भइरहँदा पनि नगरपालिकाले अनुगमन गर्दैन । न त रोक लगाउँछ । खोलामा ठेकेदारको रजाइँ चलिरहेको छ ।

प्रत्येक दिन बिहान ६ देखि साँझ ६ बजेसम्म उत्खनन गर्न पाइने सम्झौतामा भनिए पनि रातभर उत्खनन हुँदा पनि सम्बन्धित निकायले बेवास्ता गरेको स्थानीय अगुवा रोशन कार्कीले बताए । ‘जथाभावी उत्खनन भइरहँदा पनि नगरपालिकाले अनुगमन गर्दैन । न त रोक लगाउँछ । खोलामा ठेकेदारको रजाइँ चलिरहेको छ । मेयर समेतका जनप्रतिनिधि र कर्मचारीले सहयोग गरिरहेको प्रष्ट हुन्छ,’ उनले भने ।

अत्यधिक दोहन भएको भनेर बारम्बार कुरा उठाउँदा पनि बेवास्ता गरिएको १ जना जनप्रतिनिधिले बताए । ‘सम्झौता एकातिर छ । काम अर्कै हिसाबले भइरहेको छ । सबै मिलेका छन् । जसरी पनि पैसा कमाउनुपर्छ भनेर मेयरदेखि कर्मचारीसम्म लागेका छन्’ ती जनप्रतिनिधिले भने, ‘तोकिएजति परिमाणको नदीजन्य पदार्थ पहिल्यै संकलन गरिसकिएको छ । अझै पनि ठेकेदारको दोहन रोकिएको छैन । यसमा नगरपालिका पनि दोषी छ ।’

एनपी निर्माण सेवाको प्रोप्राइटर कमला ओझाको नाममा सम्झौता सुरु भएको छ । तर, अन्तिममा प्रतिनिधिका रूपमा प्रशान्त दंगालले हस्ताक्षर गरेका छन् ।

उनका अनुसार भ्रष्टाचार गर्नकै लागि गलत ढंगले सम्झौता गरेर काम अघि बढाइएको थियो । एनपी निर्माण सेवाको तर्फबाट प्रोप्राइटर कमला ओझाले गर्ने भनिएको सम्झौतामा हस्ताक्षर भने ठेकेदार कम्पनीका प्रतिनिधि प्रशान्त दंगालले गरेको पाइएपछि ठेक्का प्रक्रिया शंकाको घेरामा परेको हो । त्यहाँ ओझाको हस्ताक्षर छैन । नगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेले हस्ताक्षर गरेका छन् ।

‘एनपी निर्माण सेवाको प्रोप्राइटर कमला ओझाको नाममा सम्झौता सुरु भएको छ । तर, अन्तिममा प्रतिनिधिका रूपमा प्रशान्त दंगालले हस्ताक्षर गरेका छन् । प्रतिनिधि राखेर सम्झौता गर्न पाइन्छ । तर, सम्झौता पत्रको सुरुमै त्यो कुरा उल्लेख हुनुपर्छ । सुरुमा १ जना व्यक्तिसँग सम्झौता गर्ने भनेर अन्तिममा अर्कै व्यक्तिले हस्ताक्षर गर्नु नै बदमासी हो,’ ती जनप्रतिनिधिले भने ।

अर्कोतर्फ जेसीबी, एक्साभेटरजस्ता ठूलो मेसिनले खोला खन्न पाइँदैन । तर, ठेकेदारले तिनै मेसिन प्रयोग गरेर दिनरात उत्खनन् गरिरहेका छन् । यसो हुँदा पनि स्थानीय तह, प्रहरी कसैले नियन्त्रण नगरेको स्थानीयको गुनासो छ ।

यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा सम्बन्धित निकायले तत्काल छानबिन गर्नुपर्ने स्थानीय बताउँछन् । ठेक्का प्रक्रिया, नदीजन्य पदार्थको उत्खनन लगायतमा गलत भएको भन्दै स्थानीय र केही जनप्रतिनिधिले छानबिन एवं कारबाहीको माग गरेका हुन् । लापरबाहीपूर्ण उत्खननका कारण आसपासका बस्ती जोखिममा परेको उनीहरुको भनाइ छ ।

नगरपालिकाले लुकायो विवरण

खोला ठेक्कासँग सम्बन्धित सूचना उपलब्ध गराउन नगरपालिकाले अस्वीकार गरेको छ । सूचनाको हक प्रयोग गरेर खोलाको ठेक्का प्रक्रिया, नदीजन्य पदार्थ उत्खनन एवं संकलन, बिल, भौचर, आईई प्रतिवेदनलगायत माग गर्दा नगरपालिकाले महत्वपूर्ण विवरण लुकाएको हो । गलत हिसाबले गरिएको ठेक्का सम्झौता, अनुगमनको एउटा प्रतिवेदन र जारी भएका बिलको नम्बर मात्रै उपलब्ध गराएको नगरपालिकाले अरु सबै विवरण गुपचुप राखेको छ ।

उक्त विवरणबाट सम्झौताको प्रक्रिया पूरा भएको छ कि छैन ? आशयको सूचना प्रकाशन भएपछिको अवधिभित्र सम्झौता भएको हो कि हैन ? ठेकेदारले एकमुष्ट पैसा जम्मा गरे कि गरेनन् ? करको रकम कहिले दाखिला भयो ? दैनिक कति उत्खनन भइरहेको छ ? छुटको प्रक्रिया के थियो ? जस्ता विषय खुल्छन् ।

नगरपालिकाले बिल, भौचर र आईई प्रतिवेदन उपलब्ध गराएन । सूचना मागकर्तासहित आमनागरिकलाई उपलब्ध गराउन मिल्ने सार्वजनिक सरोकारको विषयसँग सम्बन्धित महत्वपूर्ण विवरण लुकाउनुले नगरपालिकाको नियतमा शंका उत्पन्न भएको हो । उक्त विवरणबाट सम्झौताको प्रक्रिया पूरा भएको छ कि छैन ? आशयको सूचना प्रकाशन भएपछिको अवधिभित्र सम्झौता भएको हो कि हैन ? ठेकेदारले एकमुष्ट पैसा जम्मा गरे कि गरेनन् ? करको रकम कहिले दाखिला भयो ? दैनिक कति उत्खनन भइरहेको छ ? छुटको प्रक्रिया के थियो ? जस्ता विषय खुल्छन् ।

नगरपालिकाका सूचना अधिकारी विनोद न्यौपानेले माग गरेजति सूचना दिन नमानेका हुन् । उनले नदीजन्य पदार्थ संकलनको बिल र ठेकेदारले जम्मा गरेको रकमको भौचर दिन नमिल्ने भनेर पत्र थमाएका छन् । ‘मागेजति सबै विवरण दिन मिल्दैन’ उनले धम्कीपूर्ण शैलीमा भने, ‘बरु मुद्दा हाल्नुस् ।’

मागकर्ताले पूर्ण सूचना नपाउनुको प्रमुख कारक हुन्, नगरपालिकाको राजस्व शाखा प्रमुख राजन रेग्मी । नगरपालिकाभित्रको सबै ‘सेटिङ’ मिलाउने र हाकिमलाई पैसा बुझाउने धन्दामा रेग्मी संलग्न रहेको आरोप लाग्ने गरेको छ । 

सूचना माग गरेपछि आईई रिपोर्ट ‘वेबसाइट’ मै उपलब्ध छ भनेर उनले छलेका थिए । तर, ‘वेबसाइट’ मा उक्त रिपोर्ट भेटिएन । महत्वपूर्ण कागजात उपलब्ध गराएपछि खोला ठेक्कामा भइरहेको बदमासी बाहिर आउने ठानेर न्यौपानेले सूचना लुकाएका हुन् । यसले पनि सबै पक्षको मिलेमतो छ भन्ने शंकामा बल पुग्छ ।

मागकर्ताले पूर्ण सूचना नपाउनुको प्रमुख कारक हुन्, नगरपालिकाको राजस्व शाखा प्रमुख राजन रेग्मी । उनले उपलब्ध नगराएका कारण सूचना अधिकारीले सूचना उपलब्ध गराउन नसकेको नगरपालिकाको खरिद शाखा स्रोतले बतायो । शाखाका अनुसार रेग्मी प्रमुख प्रशासकीय अधिकृतका दाहिने हातजस्तै हुन् ।

नगरपालिकाभित्रको सबै ‘सेटिङ’ मिलाउने र हाकिमलाई पैसा बुझाउने धन्दामा रेग्मीको संलग्नता रहेको आरोप लाग्ने गरेको छ । बिल, भौचर र आईई प्रतिवेदनलगायत ठेक्काका सम्पूर्ण कागजातको सुरक्षा गर्ने जिम्मेवारी रेग्मीकै हुन्छ ।

रेग्मीले गर्ने ‘सेटिङ’को सुइँको पाएपछि राजस्व परामर्श समितिको संयोजकसमेत रहेकी उपमेयर अकली चौधरीले उनलाई राजस्व शाखाबाट हटाउन मौखिक रूपमा पटक–पटक दबाब दिएकी थिइन् । तर, प्रमुख प्रशासकीय अधिकृतले उनलाई हटाउन मानिरहेका छैनन् । आफ्नो ‘सेटिङ’ मिलाउने मुख्य कर्मचारी भएकाले रेग्मीलाई प्रमुख प्रशासकीयले संरक्षण गरिरहेको आरोप लागेको छ ।

खोला ठेक्काबारे बुझ्न आईई रिपोर्ट, बिल र भौचर महत्वपूर्ण कागजात हुन् । आईई प्रतिवेदनले खोलाबाट नदीजन्य पदार्थ जम्मा कति परिमाणमा निकाल्ने भन्ने मात्रै नभएर कुन नाकाबाट दैनिक कति परिमाणमा निकाल्न पाइन्छ भन्ने प्रष्ट पार्छ ।

ठेकेदारलाई प्रत्येक महिना बिल बुझाउने बेलामा खोलामा तोकिएको परिमाण अनुसारको उत्खनन भए–नभएको विषयमा प्राविधिकसहितको टोलीले अनुगमन गरेर नापाजाँच गरी प्रतिवेदन दिएपछि मात्रै अर्को बिल जारी गर्नुपर्ने नियम छ ।

‘ठेकेदारलाई एकैपटक सबै बिल दिन पाइँदैन । महिना–महिना दिनमा बिल दिँदा दिनमा कति परिमाण निकाल्ने भन्ने परिमाण हेरेर दिनुपर्छ । त्यो बिल काटेर ठेकेदारले बुझाइसकेपछि नगरपालिकाले अर्को बिल जारी गर्नुपर्ने हुन्छ । महिना दिनको दिँदा पनि १ दिनमा हुन आउने परिमाणको हिसाब गरेर बिल दिनुपर्छ । त्यो अनुसार जारी नभएकै कारण बिल लुकाइएको हुन सक्छ,’ १ जना प्राविधिकले भने ।

उनका अनुसार ठेकेदारलाई प्रत्येक महिना बिल बुझाउने बेलामा खोलामा तोकिएको परिमाण अनुसारको उत्खनन भए–नभएको विषयमा प्राविधिकसहितको टोलीले अनुगमन गरेर नापाजाँच गरी प्रतिवेदन दिएपछि मात्रै अर्को बिल जारी गर्नुपर्ने नियम छ । प्राविधिक टोलीले अनुगमन नगरी बिल स्वीकृत गरिँदै आएको हुनसक्ने आशंकामा बल पुगेको उनले बताए ।

 

ठेकेदारले प्रत्येक महिना काटिसकेको बिलको विवरण बुझाएपछि मात्रै नगरपालिकाले नयाँ बिल जारी गर्न पाउने उनको भनाइ छ । ‘अनौठो कुरा के छ भने ठेकेदारले बिल आफैं बनाउँछन् । आफैं छाप हान्छन् । नगरपालिकाले त्यसलाई मान्यता दिन्छ । यो कानुनविपरीतको काम र अनियमितता हो,’ ती प्राविधिक भन्छन् ।

बिल, भौचर र आईई रिपोर्टले खोलामा बदमासी भएको छ कि छैन भनेर पत्ता लाग्छ । खोला ठेक्का क्रममा ठेकेदारले बैंकमा पैसा एकमुष्ट जम्मा गरेको हो वा किस्ताबन्दीमा भन्ने समेत अस्पष्ट छ ।

खोलामा ठूला औजारको प्रयोग गर्न पाइन्छ कि पाइँदैन भनेर आईई प्रतिवेदनमै उल्लेख हुनुपर्छ । तर, प्रतिवेदन गुपचुप राखेको नगरपालिकाले जेसीबीलगायतका मेसिनको प्रयोगमा रोक लगाएको छैन । जथाभावी दोहन हुँदा आँखा चिम्लिने काम भएको छ ।

बिलले उत्खननको दैनिक परिमाण प्रष्ट पार्छ । जारी भएको बिलको परिमाणले आईईले तोकेअनुसार नदीजन्य पदार्थ संकलन भएको छ कि छैन भन्ने कुरा पुष्टि गर्ने ती प्राविधिकको भनाइ छ । उनका अनुसार बिल, भौचर र आईई रिपोर्टले खोलामा बदमासी भएको छ कि छैन भनेर पत्ता लाग्छ । खोला ठेक्का क्रममा ठेकेदारले बैंकमा पैसा एकमुष्ट जम्मा गरेको हो वा किस्ताबन्दीमा भन्ने समेत अस्पष्ट छ ।

नगरपालिकाले बिल जारी भएको नम्बर मात्रै उपलब्ध गराएको छ । बिल र त्यसको नमुना नदिएपछि बिल कसरी छापिएको छ भन्ने पनि प्रष्ट हुन सकेन । ‘जनप्रतिनिधि र कर्मचारीको ‘सेटिङ भत्किने भएपछि विवरण लुकाउनु स्वभाविक हो,’ उनले भने ।

मेयर, प्रमुख प्रशासकीय अधिकृत, प्राविधिक र ठेकेदारबीचको मिलेमतोका कारण खोलाको जथाभावी दोहन तीव्र भएको छ । दोहनले संस्थागत लुटको स्वरूप लिएको प्राविधिक बताउँछन् ।

ती प्राविधिक प्राकृतिक स्रोतमाथि चरम दोहन भइरहेको विषय सार्वजनिक हुँदा जनप्रतिनिधि र कर्मचारीले अनुगमन नगर्नु नै शंकास्पद रहेको बताउँछन् । भन्छन्, ‘ठेकेदारसँग पैसा खाएकाले मौन बसेका होलान् । प्रमाणित प्रतिलिपि उपलब्ध गराउँदा त्यो सबै खुल्छ ।’

उनका अनुसार मेयर, प्रमुख प्रशासकीय अधिकृत, प्राविधिक र ठेकेदारबीचको मिलेमतोका कारण खोलाको जथाभावी दोहन तीव्र भएको छ । दोहनले संस्थागत लुटको स्वरूप लिएको ती प्राविधिक बताउँछन् । प्राकृतिक स्रोतको चरम दोहन भइरहेका बेला कागजात लुकाएर कानुनी प्रक्रियालाई बेवास्ता गर्दै ठेकेदारको संरक्षणमा नगरपालिका लागेपछि सूचना अधिकारी र प्रमुख प्रशासकीय अधिकृतलाई विपक्षी बनाएर राष्ट्रिय सूचना आयोगमा पुनरावेदन गरिएको छ ।

प्राविधिकका अनुसार ठेक्का प्रक्रिया शंकास्पद मात्रै छैन, कार्यान्वयनका क्रममा व्यापक आर्थिक चलखेल भएको छ । योजनाबद्ध मिलेमतोबाट भइरहेको संस्थागत लुटमाथि छानबिन आवश्यक रहेको उनको भनाइ छ ।

कार्यालय प्रमुखलाई धेरै कुरा थाहा हुँदैन । यो विषयमा बहस नगरौं । भएको जति सूचना उपलब्ध गराएकै छौं ।

प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेले कानुनअनुसार प्रक्रिया पूरा गरेरै खोला ठेक्का लगाइएको बताए । ठेक्का र नदीजन्य पदार्थ उत्खनन एवं संकलनमा कुनै चलखेल नभएको उनको दाबी छ । ‘बिल हामी छाप्दैनौं । ठेकेदारले नै छाप्ने हो । ठेकेदारले ल्याएपछि नगरपालिकाले प्रमाणित गरिदिन्छ,’ न्यौपाने भन्छन्, ‘कार्यालय प्रमुखलाई धेरै कुरा थाहा हुँदैन । यो विषयमा मसँग बहस नगरौं । भएको जति सूचना हामीले उपलब्ध गराएकै छौं ।’

उनले ठेक्का व्यक्तिलाई नभएर कम्पनीलाई दिने भएकाले ठेकेदारको प्रतिनिधिसँग पनि सम्झौता हुन सक्ने तर्क गरे । कानुनअनुसारै काम भएको विषयलाई गिजोल्न खोजिएको न्यौपानेको दाबी छ ।

मेयर केदारप्रसाद गुरागाईंले भने अलमलिएको जवाफ दिए । नेपाल सरकारको नियम र कानुन अनुसार नै ठेक्का लगाएको उनको भनाइ छ । खोलामा चरम दोहन हुँदा नियन्त्रणका लागि प्रहरीले चासो नदिएको गुरागाईंको आरोप छ । ‘अहिले त ठेक्का लागेर काम भइरहेको छ । बरु असार, साउन र भदौमा धेरै दोहन हुन्छ । त्यो बेला चैं सबै जनाले निगरानी गरिदिनुहोस्,’ उनी भन्छन् ।

यस्तो छ ठेकेदार कम्पनी र नगरपालिकाबीचको सम्झौता

 

तपाइको प्रतिक्रिया
रास्वपा सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
नापी कार्यालयका सर्भेक्षकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ
साढे दुई करोडभन्दा बढीको सुनका गहनासहित महिला पक्राउ
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
कोशीमा ५७७ वडामा कांग्रेस देउवा समूहको अधिवेशन
मोरङ-६ को अधिवेशनमा कुटपिटपछि कांग्रेसले फेर्यो संयोजक
माग सम्बोधन नभएपछि छात्रवृत्ति करारका चिकित्सक आन्दोलनमा
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×