
विराटनगर । किसानलाई सहुलियत दरमा वितरण गर्न ल्याइएको सरकारी अनुदानको रासायनिक मल निजी व्यापारीको गोदाममा फेला परेको छ। जिल्ला अनुगमन टोलीले बिहीबार उदयपुरको त्रियुगा नगरपालिका–९ राजाबासस्थित एक गोदाममा छापा मार्दा ठुलो परिमाणमा मल फेला पारेको हो ।
उदयपुरका सहायक प्रमुख जिल्ला अधिकारी विक्रम पाण्डेको नेतृत्वको टोलीले ‘खार्पाली एग्रो एन्ड फिड सप्लायर्स’ बाट ३१ बोरा मल बरामद गरेको छ। बरामद मलमा १४ बोरा युरिया, १० बोरा डीएपी र ७ बोरा पोटास रहेको उनले जानकारी दिए।
अनुदानको मल गैर कानुनी रूपमा निजी पसलबाट महँगोमा बिक्री भइरहेको गोप्य सूचनाका आधारमा टोली त्यहाँ पुगेको थियो । ‘कृषकलाई बाँड्नुपर्ने मल निजी व्यापारीले लुकाएर बेचिरहेको सूचना पाएपछि हामीले छापा मारेका हौ,’ पाण्डेले भने । बरामद गरिएको मल आवश्यक कारबाहीका लागि त्रियुगा नगरपालिकालाई बुझाइएको छ।
त्रियुगा नगरपालिकाले नगरवासीका लागि अनुदानमा मल आपूर्ति गर्दै आए पनि वास्तविक किसानले समयमा मल नपाउने तर बजारमा भने अवैध रूपमा भेटिने गरेको गुनासो व्याप्त थियो । ‘सहकारीमा जाँदा मल छैन भन्छन्, तर व्यापारीकोमा पैसा तिरेपछि जति पनि पाइन्छ,’ एक स्थानीय किसानले आक्रोश पोखे ।
चोरी पैठारी र आन्तरिक मिलेमतोका कारण अनुदानको मल बजारमा पुग्ने गरेको भन्दै स्थानीयले यस्ता कालोबजारी गर्ने व्यापारीमाथि कडा कारबाही गर्न माग गरेका छन् ।



















