
विराटनगर । मोरङको उर्लाबारी नगरपालिका–७ स्थित पूर्वेली टोलका ३८ वर्षीय मिथुन भनिने रजत थापाले लागुऔषधको कारोबार गरिरहेको सूचना प्रहरीले प्राप्त गर्यो ।
लागुऔषध कारोबारको जानकारी पाएलगत्तै प्रहरीले पिछा गर्न थाल्यो । नभन्दै उनी आइतबार साँझ घरबाटै पक्राउ परे । प्रहरीले कोठामा छापा हान्दा ठूलो परिमाणमा लागुऔषध र नगद बरामद भएको छ । लागुऔषध कारोबारमा प्रयोग हुने २ वटा डिजिटल तराजु पनि भेटियो ।
इलाका प्रहरी कार्यालय उर्लाबारीका इन्स्पेक्टर रन्जन बराल र लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाका सई सोमेश लामिछाने नेतृत्वको संयुक्त टोलीले साँझ ६ बजेतिर उनको घरमा छापा हानेको थियो । घर खानतसाली गर्ने क्रममा लागुऔषध ब्राउन सुगर (हैरो हेरोइन)जस्तो देखिने वस्तु ५५ ग्राम, कोरेक्सजस्तो देखिने झोल पदार्थ ५ बोतल बरामद भएको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले बताइन् ।
उनका अनुसार बरामद भएको कोरेक्समध्ये ४ वटामा प्रतिबोतल १ लिटर र एउटामा १ सय मिलिलिटर थियो । साथै, २ लाख ८८ हजार २ सय ५० रूपैयाँ नगद र लागुऔषधको कारोबारमा प्रयोग हुने २ वटा डिजिटल तराजुसमेत बरामद भएको जानकारी चुँडालले दिइन् । रकम भने लागुऔषध कारोबारबाट आर्जन गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
पक्राउ परेका मिथुनविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन प्रहरीले सोमबार अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाएको छ । इन्स्पेक्टर रन्जन बराल नेतृत्वको टोलीले थप अनुसन्धान गरिरहेको हो । लागुऔषध कारोबारमा उनी मात्रै संलग्न थिए कि अरुको पनि संलग्नता छ भन्ने बारेमा अनुसन्धानबाट पत्ता लाग्ने प्रहरीले जनाएको छ ।
मिथुन १ दशक अघिदेखि गुण्डागर्दीका माध्यमबाट उर्लाबारीमा आतंक फैलाउने व्यक्तिका रूपमा परिचित छन् । अपराधिक पृष्ठभूमिका उनीविरुद्ध मुद्दै मुद्दा चलेको देखिन्छ । विभिन्न प्रहरी कार्यालयबाट हालसम्म ७ वटा मुद्दा चलेको रेकर्ड छ । अब चल्दा उनीविरुद्धको मुद्दाको संख्या ८ पुग्छ ।
सबैभन्दा धेरै इलाका प्रहरी कार्यालय उर्लाबारीबाट मात्रै उनीविरुद्ध ५ पटक मुद्दा चलिसकेको छ । त्योबाहेक झापा र काठमाडौंबाट पनि मुद्दा चलेको देखिन्छ । मोरङको उर्लाबारीबाहेक इलाका प्रहरी कार्यालय काँकडभिट्टा र प्रहरी वृत्त गौशालाबाट मुद्दा चलेको हो ।
मिथुनविरुद्ध यसअघि केही सार्वजनिक अपराध ऐनअन्तर्गत ३ पटक तथा अभद्र व्यवहार र ज्यान मार्ने उद्योगअन्तर्गत २–२ वटा मुद्दा चलेको प्रहरीले जनाएको छ । गुण्डागर्दी गरेर समाजमा आतंक मच्चाउँदै आएका मिथुनको अपराधिक यात्रा २०७१ सालबाट सुरु भएको थियो ।
उनीविरुद्ध काँकडभिट्टा प्रहरीले पहिलोपटक २०७१ चैत १९ गते केही सार्वजनिक अपराध ऐनअन्तर्गतको मुद्दा चलाएको थियो । त्यसपछि उर्लाबारी प्रहरीले २०७२ जेठ २४ गते र असार ९ गते सोही मुद्दा चलाएको देखिन्छ । उर्लाबारीबाटै २०७७ फागुन २४ गते अभद्र व्यवहार, २०७९ मंसिर २ गते ज्यान मार्ने उद्योग र २०८० साउन २४ गते अभद्र व्यवहार मुद्दा चलेको थियो ।
प्रहरी वृत्त गौशालाले २०८१ साल साउन २७ गते ज्यान मार्ने उद्योग मुद्दा चलायो । काठमाडौंको चुच्चेपाटीस्थित केएल टावरअगाडि मीनराज शाहीमाथि साउन २३ गते छुरा प्रहार भएको थियो । उक्त घटनामा उनीसहितलाई प्रतिवादी बनाएर मुद्दा चलाइएको थियो ।
तर, मिथुन हालसम्म फरार थिए । प्रहरीलाई छल्दै भागिरहेका उनी पछिल्लो समय लागुऔषध कारोबारमा संलग्न भएको पाइएको हो । ज्यान मार्ने उद्योग मुद्दाको प्रतिवादीका रूपमा प्रहरीले खोजी जारी राखेका बेला मिथुन मोरङबाट पक्राउ परे ।
‘उनीविरुद्ध विगतमा मुद्दै मुद्दा चलेको देखिन्छ । हालसम्म ७ वटा मुद्दा चलिसकेका रहेछन् । ६ वटा मुद्दाको किनारा लागिसक्यो । काठमाडौंबाट चलेको एउटा मुद्दामा चैं फरार रहेछन् । उनी जोडिएको पछिल्लो मुद्दाको फैसला अदालतले गरिसकेको छैन । भर्खर त पक्राउ पर्दैछन्,’ प्रहरी स्रोतले भन्यो । प्रहरीका अनुसार विभिन्न घटनामा पक्राउ गरेर मुद्दा चलाइए पनि छुटेपछि उनी पुनः अपराधमै संलग्न हुने गरेको पाइएको छ ।

























