
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको १५औं राष्ट्रिय महाधिवेशन आज (आइतबार)देखि काठमाडौंमा सुरु हुँदैछ । पार्टीको नयाँ नेतृत्व चयनसँगै आगामी राजनीतिक दिशा, नीति र कार्यक्रम तय गर्ने महाधिवेशनको उद्घाटन दिउँसो २ बजे खुलामञ्चमा हुनेछ ।
‘परम्पराको सम्मान र परिवर्तनको संकल्प ः समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प’ भन्ने नारासहित सुरु हुन लागेको महाधिवेशन असोज २२ गतेसम्म चल्नेछ । उद्घाटन समारोहपछि सोमबारदेखि बन्दसत्रका कार्यक्रम अघि बढ्नेछन् भने असोज २१ र २२ गते निर्वाचन कार्यक्रम सञ्चालन हुनेछ ।
कांग्रेसले महाधिवेशनलाई नेतृत्व चयनमा मात्र सीमित नराखी पार्टीको भावी कार्यदिशा निर्धारण गर्ने अवसरका रूपमा प्रस्तुत गरेको छ । पार्टीका प्रवक्ता देवराज चालिसेका अनुसार महाधिवेशनमा सात हजार पाँच सयभन्दा बढी प्रतिनिधि सहभागी हुनेछन् । उनले यो कांग्रेसको इतिहासकै ठूलो महाधिवेशन हुने बताए ।
बन्दसत्रमा पार्टीको आगामी नीति, कार्यक्रम र समसामयिक राजनीतिक प्रतिवेदनमाथि छलफल हुनेछ । सभापति गगनकुमार थापाले आगामी पाँच वर्षका लागि राजनीतिक, आर्थिक, उत्पादन, रोजगारी तथा विदेश नीतिसम्बन्धी दृष्टिकोण समेटिएको कार्यपत्र प्रस्तुत गर्ने तयारी छ ।
महाधिवेशनका लागि शुक्रबार र शनिबार प्रतिनिधिहरूको नाम दर्ता गरिएको थियो । नाम दर्ताका लागि प्रतिव्यक्ति तीन हजार पाँच सय रुपैयाँ शुल्क तोकिएको थियो । दर्ता भएका प्रतिनिधिलाई पार्टी विधान, डायरी, डटपेन, प्रतिनिधि परिचयपत्र तथा खाना र खाजाका लागि कुपनसहितको झोला उपलब्ध गराइएको छ ।
महाधिवेशनको उद्घाटन समारोहमा कांग्रेसले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), प्रतिपक्षी नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा)सहित विभिन्न राजनीतिक दललाई निमन्त्रणा गरेको छ । भारत, चीन, अमेरिका लगायत आधा दर्जनभन्दा बढी मुलुकका पाहुनालाई पनि आमन्त्रण गरिएको छ । तर, उद्घाटनको मिति परिवर्तन भएका कारण विदेशी पाहुनाको उपस्थिति अपेक्षाकृत कम हुन सक्ने कांग्रेसले जनाएको छ ।
महाधिवेशनमा सहभागी प्रतिनिधि तथा शुभेच्छुकको आवास व्यवस्थापनका लागि काठमाडौंका विभिन्न क्षेत्रका होटल बुकिङ गरिएको छ । आवास व्यवस्थापन समितिका सदस्य तथा नेपाल लोकतान्त्रिक साना होटल व्यवसायी संघका अध्यक्ष लीलाप्रसाद ढकालका अनुसार करिब १० हजार जनालाई बस्न मिल्ने गरी गौशाला, कोटेश्वर, लाजिम्पाट, ठमेल, नयाँ बसपार्क, सुन्धारा, बालाजु र कलंकी क्षेत्रका होटलमा व्यवस्था मिलाइएको छ ।
प्रदेशअनुसार आवासको क्षेत्रसमेत छुट्याइएको छ । कोशी र मधेशका प्रतिनिधिलाई गौशाला तथा कोटेश्वर, बागमतीका प्रतिनिधिलाई लाजिम्पाट र ठमेल, गण्डकी तथा लुम्बिनीका प्रतिनिधिलाई बालाजु र नयाँ बसपार्क तथा कर्णाली र सुदूरपश्चिमका प्रतिनिधिलाई सुन्धारा र कलंकीमा बस्ने व्यवस्था गरिएको छ । विदेशस्थित जनसम्पर्क समितिका प्रतिनिधिका लागि लाजिम्पाट र ठमेलमा आवासको प्रबन्ध गरिएको छ ।
जिल्ला, जनसम्पर्क समिति तथा भ्रातृ संस्थाबाट आएका प्रतिनिधिले होटल र आवासको खर्च आफैं बेहोर्नुपर्नेछ । विदेशबाट आएका पाहुनाको आवास खर्च भने पार्टीले व्यहोर्नेछ । प्रतिनिधिका लागि महाधिवेशन अवधिभर बिहान र दिउँसोको खाना भृकुटीमण्डपमा उपलब्ध गराउने व्यवस्था गरिएको प्रवक्ता चालिसेले बताए ।
महाधिवेशनमा सहभागीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै खुलामञ्चको पश्चिमतर्फ पाँच स्टलसहितको हेल्थ डेस्क सञ्चालन गरिनेछ । स्वास्थ्य समितिका संयोजक डा. केदारनरसिंह केसीका अनुसार ३० जना स्वास्थ्यकर्मीसहितको टोली परिचालन हुनेछ । डेस्कबाट सामान्य स्वास्थ्य परीक्षण, आकस्मिक उपचार तथा आवश्यक औषधि निःशुल्क उपलब्ध गराइनेछ ।
उच्च रक्तचाप, मधुमेह परीक्षणसँगै सिटामोल, जीवनजल तथा घाउचोटमा प्रयोग हुने औषधिको व्यवस्था गरिएको छ । तत्काल अस्पताल लैजानुपर्ने अवस्था आए वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर र बीपी स्मृति अस्पतालमा उपचारको प्रबन्ध मिलाइएको छ । त्यसका लागि दुईवटा एम्बुलेन्स तयारी अवस्थामा राखिनेछन् । रातको समयमा आवश्यक परे स्वास्थ्यकर्मीलाई बोलाउन सकिने गरी अनकल सेवा पनि सञ्चालन हुनेछ । होटलमा बसेका प्रतिनिधिलाई स्वास्थ्य समस्या भए त्यहीँ पुगेर परीक्षण गर्ने व्यवस्था मिलाइएको डा. केसीले जानकारी दिए ।
उद्घाटन समारोहमा सहभागी हुने प्रतिनिधिका सवारीसाधन व्यवस्थापनका लागि पनि ट्राफिक प्रहरीसँग समन्वय गरिएको छ । यातायात व्यवस्थापन समितिका संयोजक एवं कांग्रेस केन्द्रीय सदस्य विजयबहादुर स्वाँरका अनुसार धरहराको भूमिगत पार्किङ, माइतीघरदेखि भद्रकालीसम्मको एकतर्फी सडकको एक भाग तथा दरबारमार्गस्थित अन्नपूर्ण होटल परिसरमा पार्किङको व्यवस्था गरिएको छ । पुरानो बसपार्क आसपास र भृकुटीमण्डपभित्र पनि सवारीसाधन पार्किङ गराउने तयारी भइरहेको उनले बताए ।
नेतृत्व चयनको प्रतिस्पर्धासँगै पार्टीको आगामी पाँच वर्षको राजनीतिक तथा सांगठनिक दिशा तय गर्ने अपेक्षा गरिएको कांग्रेसको १५औं महाधिवेशनले काठमाडौंमा राजनीतिक चहलपहल बढाएको छ ।

























