
काठमाडौं । देशका विभिन्न प्रदेशमा आज (आइतबार) वर्षा र हिमपातको सम्भावना रहेको छ । मौसममा आएको बदलीसँगै केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै भू–भाग तथा गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी क्षेत्रमा पश्चिमी वायुको प्रभाव रहेको छ । कोशी, मधेश र बागमती प्रदेशसहित गण्डकी र लुम्बिनीका केही स्थानमा भने मनसुनी वायुको आंशिक प्रभाव देखिएको छ ।
हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्य बदली रहेको छ । अन्य भू–भागमा आंशिक बदली हुँदा गण्डकीका केही स्थान र कोशीका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बादल लाग्नेछ । कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने तराई क्षेत्रमा पनि आंशिक बादल देखिनेछ ।
कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा वर्षा वा हिमपात हुन सक्नेछ । कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा पनि मध्यमसम्मको वर्षा वा हिमपातको सम्भावना छ । यी चार प्रदेशका तराई क्षेत्रमा समेत एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने महाशाखाको पूर्वानुमान छ ।
राति देशका पहाडी र तराई क्षेत्रमा सामान्य बदली रहनेछ । कोशी र बागमतीका हिमाली क्षेत्रमा पनि बादल लाग्नेछ भने अन्य क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ ।
कोशीसहित मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रका केही स्थानमा मध्यमसम्मको वर्षा हुन सक्नेछ । कोशी, बागमती र गण्डकीका पहाडी तथा हिमाली क्षेत्रमा एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना छ ।
सुदूरपश्चिमको तराई र मधेश प्रदेशका एक–दुई स्थानमा पनि हल्का वर्षा हुन सक्नेछ । तराईका भू–भागमा बिहानपख हुस्सु लाग्ने सम्भावना रहेकाले मौसममा हुने परिवर्तनप्रति सचेत रहनुपर्ने महाशाखाले जनाएको छ ।

























