
विराटनगर । साँझमा बास बस्ने प्रचलन र त्यस क्रममा भएको एक मीठो प्रेम कहानीको सुरुवातलाई म्यूजिक भिडियो मार्फ़त देखाउने प्रयास गरिएको छ ।
त्यस्तो प्रसंग बुनिएको लोक भाकाको ‘चिउरी पातैमा’ गीत सार्वजनिक भएको छ । यसमा बास बस्न आउने अपरिचित ब्यक्तिको घरबेटीको छोरी प्रतिको आकर्षण र उनीहरु बीचको दोहोरी संवाद अनि त्यसपछि हुने प्रेम कहानीको सुरुवातलाई रोमाञ्चक रुपमा देखाइएको छ ।
गायक लेख काफ्ले र गायिका अप्सरा घिमिरेको स्वर रहेको उक्त गीत लेख काफ्लेको युट्युब च्यानलबाट रिलिज भएको हो ।
गीतमा शब्द गायक स्वयमको, संगीत लेखु सहयात्रीको र संकलन बिषम आचार्यको छ । मिक्सिङ तथा मास्टरिङ प्रिज्म स्टुडीयोका श्याम श्वेत रसाइलीले गरेका छन् ।
मकवानपुरको रमणीय स्थलमा छायांकन गरिएको गीतको भिडियोमा लालना छिमरिया र गायक लेख काफ्लेकै अभिनय छ । भिडियोमा बास बस्ने कथाबस्तुलाई निर्देशक मौसम हिमालीले कलात्मक शैलीमा प्रस्तुत गरेका छन् । भिडियोग्राफीको जिम्मेवारी नवराज उप्रेतीले निर्वाह गरेका छन् ।



















