
विराटनगर । रोटरी फाउन्डेसनको ग्लोबल ग्रान्ड कार्यक्रमअन्तर्गत निर्माण गरिएको विद्यालय भवन व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको छ ।
विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विराटनगर –५ स्थित श्री सिद्वकाली आधारभूत विद्यालयका नवनिर्मित भवन हस्तान्तरण गरिएको हो ।
रोटरी क्लब विराटनगरको युवा संस्था रोट्रयाक विराटनगरको अग्रसरतामा निर्माण गरिएको भवन पूर्ण बालमैत्री रहेका छन् ।
करिब ५० लाख रुपैयाँको लागतमा रोटरी फाउन्डेसनको ग्लोबल ग्रान्ड कार्यक्रममार्फत ४ वटा भवन र एउटा शौचालय निर्माण गरिएको थियो । ४ वटा पक्की भवनमा १२ वटा कोठा रहेका छन् ।
त्यस्तै, अपांगमैत्री शौचालयमा छात्र र छात्राका लागि बेग्लाबेग्लै छ । यसअघि जीर्ण भवन थियो । रोटरीले भवन निर्माणसहित खेल मैदान बनाएको छ ।
कार्यक्रममा मेयर कोइराला, रोटरी इन्टरनेशनलका वासुदेव गोल्यान, रोट्रयाकका अध्यक्ष प्रेम पारख, पूर्व अध्यक्ष एरोस पौडेल, सजल सुवेदीलगायतले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकुमार यादव, प्रधानाध्यापक राजेन्द्रप्रसाद थापालाई हस्तान्तरण गरे । मेयर कोइराला र गोल्यानले नवनिर्मित भवनको उद्घाटनसमेत गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले भौतिक संरचनाको विस्तारसँगै विद्यालयको गुणस्तर सुधार्न निर्देशन दिए ।
उनले सामुदायिक विद्यालयको गुणस्तर वृद्धिका लागि महानगरले सक्दो प्रयास गरिरहेको जानकारी दिए । हरेक विद्यालयलाई पंखा, पानी र शौचालयको व्यवस्था मिलाइसकेको उनको भनाइ थियो ।आवश्यक पर्ने अन्य सामान पनि महानगरले उपलब्ध गराउने प्रतिबद्धता जनाए ।

























