सामुदायिक विद्यालयहरूको वर्तमान उपलब्धि

मुलुकी खबर
डिल्लीप्रसाद दाहाल
clock२०८२ असार २१, शनिबार १९:२२

नेपालको संविधान, २०७२ को धारा ३१ मा शिक्षासम्बन्धी हकमा आधारभूत तह (कक्षा १–८) अनिवार्य र निःशुल्क तथा माध्यमिक तह (कक्षा ९–१२) निःशुल्क अध्ययन गर्न पाउने व्यवस्था गरेको छ ।

हाल नेपालमा २ प्रकारका शिक्षालयहरू छन् । सामुदायिक विद्यालय जसमा राज्यको लगानी छ, जो गैह्र नाफामूलक हो भने अर्को संस्थागत विद्यालय जसमा निजी क्षेत्रको लगानी छ, जो नाफामूलक संस्था हो । सामुदायिक विद्यालय जो निःशुल्क वा अत्यन्त कम सहयोग शुल्क लिएर चलिरहेका छन् ।

Advertisement

राज्यले तहगत वा विषयगत रूपमा शिक्षक दरबन्दी वितरण र अन्य शैक्षिक व्यवस्थापकीय पक्षमा पर्याप्त लगानी नगरेकाले अपुग विषय शिक्षक र शैक्षिक तथा भौतिक व्यवस्थापनका लागि सामान्य सहयोग शुल्क लिएर अब्बल रूपमा विद्यालय सञ्चालन गरिरहेका छन्। समाजमा बिस्तारै आकर्षण कायम गरिरहेका कारण त्यस्ता विद्यालयहरू शैक्षिक माफियाहरूको कोपभाजनमा परी शुल्क लिएको सम्बन्धमा बेलाबेलामा मुद्दामामिला खेपेर र मुद्दा जितेर पनि शैक्षणिक गतिविधिलाई सञ्चालन गरिरहेका प्रशस्त उदाहरणहरू छन् ।

हालसालै भएको एसईई परीक्षाको परीक्षाफलपश्चात् धेरै सामुदायिक विद्यालयहरूले गरेको उल्लेख्य नतिजाका सम्बन्धमा स्थानीय तह, समुदाय र सरोकारवालाहरू किन जागरूक नभएका हुन् । किन सामुदायिक विद्यालयप्रति वैरभाव व्यक्त गर्छन् ? सामुदायिक विद्यालयहरू प्रतिको परम्परागत सोचमा किन परिवर्तन नभएको हो ? अब सामुदायिक विद्यालयहरूको शैक्षिक रूपान्तरणका लागि सबै लाग्नुपर्ने बेला भएको होइन र ? शिक्षामा आवश्यक लगानी गर्ने बेला भएको होइन र ? यस्ता धेरै प्रश्नहरू खडा भएका छन् ।

हाल हाम्रो समाजमा एउटा वर्ग जो आफ्ना छोराछोरीहरूलाई सानो उमेरदेखि नै अत्यन्त महँगो विद्यालयमा गाडीमा लामो यात्रासमेत गराई (जसको आधा विद्यार्थी जीवन गाडीको पर्खाई र गाडीकै सिटमा बित्छ) गराइरहेको छ । तर, त्यहीँ बलेसीमा रहेको अब्बल सामुदायिक विद्यालय हेलामा परिरहेको छ ।

त्यही वर्गको देखासिकी गरी अर्को मध्यम वर्ग सकिनसकी त्यसरी नै महँगो शुल्कमा अध्ययन गराइरहेको छ । यसको उपादेयता र प्रतिफल कति प्राप्त भइरहेको छ त ? खोजी गर्ने हो कि ? बुझ्नुपर्ने कुरा के छ भने यसरी महँगो शुल्क तिरी माध्यमिक तहसम्मको अध्ययन गराइसक्दा त्यो मध्यम वर्गले अब उसै गरी विद्यार्थीलाई उच्च शिक्षा अध्ययन गराउन नसक्ने हुन्छ।

अनि मध्यम वर्ग भन्छन्, ‘अब ठूला भयौ, कमाउदै पढ्दै गर भनेर विद्यार्थीलाई रूनभुल्लमा धकेलिदिन्छन् ।’ तर, हामी शिक्षकलाई थाहा छ माध्यमिक तहसम्म जतिसुकै महँगो शुल्क तिरेर अध्ययन गरे पनि अपवादबाहेक अहिलेको त्यो विद्यार्थीले अक्षर मात्र चिनेको हो ।

अपवादबाहेक उसका उपलब्धि र प्रतिभाहरू पैसाले खरिद गरिएको हो भन्ने अभिभावकलाई कसरी थाहा हुन्छ ? वास्तविक ज्ञान, सिप, अनुभव र जीवनसम्बन्धी अक्षरारम्भ र आंशिक पूर्णता त उसले स्नातक, स्नातकोत्तर वा उच्च शिक्षाबाट मात्र प्राप्त गर्ने हो । तर, अपसोच ठीक विपरीत भइरहेको छ ।

गर्नु नपर्ने समय र अवस्थामा तडगभडगसहित धेरै लगानी गर्ने तथा गर्नुपर्ने मुख्य समय र अवस्थामा भने अनावश्यक जिम्मेवारी थोपरिदिने । जसका कारण जनशक्ति पलायन हुने गम्भीर समस्या निम्तिरहेको छ ।

नेपालका बहुप्रतिक्षीत नाम चलेका र महँगो स्कुलमा पढाउने अभिभावकका सन्तानले पनि बढीमा त्यही ‘ए प्लस’ वा अधिकांशले ‘ए’ ल्याएका छन् । ‘ए प्लस’ र र ‘ए’ त निःशुल्क वा कम शुल्कमा पढाउने सामुदायिक विद्यालय तथा निःशुल्क रूपमा सञ्चालित सबै संस्कृत गुरुकुलका विद्यार्थीहरूले ल्याएका प्रशस्त उदाहरणहरू छन् । जसमा महेश संस्कृत गुरूकुल देवघाट तनहुँ र शान्ति नमुना मावि रुपन्देहीजस्ता सयौँ विद्यालयहरू विद्यार्थी र बुझ्ने अभिभावकका रोजाइमा परिरहेका छन् ।

१८ जना विद्यार्थीले ४ जीपीए ल्याएर देशभरिका ठुल्ठूला निजी स्कुललाई पछि पार्दै उत्कृष्ट स्थान हासिल गर्न सफल सामुदायिक विद्यालयहरू तथा शतप्रतिशत नतिजा ल्याउने हजारौँ सामुदायिक विद्यालयहरू अब रोजाइको विद्यालय बन्न जरूरी छ । उत्कृष्ट नतिजा ल्याउन अब महँगो शुल्क मात्र होइन सेवाभाव र गैह्र नाफामूलक बन्न पनि जरूरी छ ।

स्कुलको बाहिरी आवरण र भौतिक सम्पन्नता मात्र होइन, उच्च शैक्षिक र तालिम प्राप्त जनशक्ति र पढाइ चाहिन्छ । जो सामुदायिक विद्यालयहरूमा उपलब्ध हुने क्रम बढ्दो छ। मेहनत र इच्छाशक्ति भए सामुदायिक विद्यालयबाट पनि शैक्षिक सपनाहरू पूरा गर्न सकिन्छ भन्ने प्रशस्त उदाहरणहरू देखिन थालेका छन् ।

दुर्गम वा सुगममा पनि बिहान बेलुकाको घास काटेर एसईईमा ३.९० जीपीए ल्याउने विद्यार्थी र ती सामुदायिक विद्यालयका कथाव्यथा कतै लेखिँदैन। १० जना विद्यार्थी राखेर सय प्रतिशत नतिजा ल्याउने महँगा विद्यालय र ३ सय जना राखेर २ सय ८० जना उत्तीर्ण गराउने सामुदायिक विद्यालयलाई ९३ प्रतिशत मात्र उत्तीर्ण गराएको भनी कुरा काट्ने अनि प्रतिशतको हिसाब गर्नेहरूले कहिले बुझ्ने ? जसले सामुदायिक विद्यालयप्रतिको नकारात्मक भाव फैलाउँछ, ऊ कहिल्यै सामुदायिक विद्यालय प्रवेश गरेको हुँदैन ।

मेरो बुझाइमा अभिभावकहरूले एसईईमा ग्रेड र प्रतिशत मात्र होइन, सँगसँगै ज्ञान, सिप, व्यवहार, भाषा, जीवनदर्शन, अतिरिक्त क्रियाकलापमा रूचि, सृजनात्मकता र आत्मविश्वास जस्ता पक्षहरू पनि खोजिनु पर्दछ । जो मैले सामुदायिक विद्यालयमा नै बढी भेटेको, पढेको र देखेको अनुभव छ ।

(लेखक मोरङको उर्लाबारी नगरपालिका–८ स्थित अरनिको माविका शिक्षक हुन् ।)

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.