
छठ पर्व सुरु भएसँगै तराई-मधेशका घरआँगनमा छुट्टै चहलपहल देखिन थालेको छ । कसैलाई पूजाका सामग्री जुटाउने हतारो छ, कसैलाई घाट सफा गर्ने चटारो । कोही बाँसका डाला र सुपली खोज्दै छन् त कोही ठेकुवा बनाउन आवश्यक सामग्रीको जोहोमा व्यस्त छन्। छठको तयारीमा घरका सबै सदस्य कुनै न कुनै जिम्मेवारीमा खटिएका छन् । यस्तो बेला घरमा एउटा कुरा भने निश्चित हुन्छ- काम नगरी बस्ने मान्छे भेटिँदैन, तर कामको निर्देशन दिने मान्छे भने प्रशस्तै भेटिन्छन् ।
छठमा व्रतालुको अनुशासन र निष्ठा आफ्नै ठाउँमा छ । उनीहरूले निकै संयमित भएर विधिपूर्वक पूजा गर्छन् । तर व्रत नबस्ने परिवारका सदस्यको व्यस्तता पनि कम हुँदैन । कसैले बजारबाट सामान ल्याउनुपर्छ, कसैले फलफूल मिलाउनुपर्छ, कसैले घाटमा ठाउँ सुरक्षित गर्नुपर्छ । सामान ल्याउन पठाइएको मान्छे फर्किंदा सूचीमा भएका दुईचार कुरा छुटेका हुन्छन् । अनि घरमा सुरु हुन्छ अर्को चरणको छलफल- ‘यति भनेको पनि सम्झिएनौ ?’
छठको अर्को आकर्षण हो, ठेकुवा । यसको स्वादसँग धेरैको बाल्यकाल जोडिएको हुन्छ । प्रसादका लागि बनाइएको ठेकुवा पाक्न थालेपछि भान्सातिर जानेको सङ्ख्या बढ्छ । कसैले चाख्न खोज्छ, कसैले आकार मिलेन भन्छ, कसैले चिनी कम भएको टिप्पणी गर्छ । तर अन्तिममा सबैको एउटै माग हुन्छ- ‘अलिकति त खान पाइन्छ नि !’
घाटमा पुगेपछि दृश्य झन् रमाइलो हुन्छ । सरसफाइ, सजावट र पूजाको तयारीसँगै फोटो खिच्नेहरूको पनि उत्तिकै चहलपहल हुन्छ । कसैले परिवारको सामूहिक तस्बिर खिच्छ, कसैले सेल्फी लिन्छ । तस्बिर राम्रो आउनुपर्यो भन्ने चिन्ता पनि कम हुँदैन । अस्ताउँदो सूर्यलाई अर्घ्य दिनुअघि नै कतिपयको ध्यान मोबाइलको क्यामेरातिर पुगिसकेको हुन्छ । तर सूर्यास्तको त्यो दृश्य, पानीमा देखिने सूर्यको प्रतिबिम्ब र घाटको उज्यालोले सबैलाई केहीबेर भने मोबाइल बिर्साइदिन्छ ।
छठ केवल पूजा र प्रसादको पर्व होइन । यो परिवार, समुदाय, प्रकृति र आस्थालाई जोड्ने अवसर पनि हो । जात, भाषा र समुदायको सीमाभन्दा माथि उठेर मानिसहरू एउटै घाटमा भेला हुन्छन् । कसैले सहयोग गर्छ, कसैले पानी बाँड्छ, कसैले सरसफाइमा हातेमालो गर्छ । यही सामूहिकता छठको सुन्दर पक्ष हो ।
चार दिनसम्म चल्ने पर्वमा थकाइ पनि हुन्छ, हतारो पनि हुन्छ । कहिलेकाहीँ सानो कुरामा घरभित्रै भनाभन पनि होला । तर अन्त्यमा सबैको अनुहारमा देखिने सन्तुष्टि र खुसीले ती सानातिना असमझदारी बिर्साइदिन्छन् । छठले सिकाउने कुरा पनि यही हो- आस्था व्यक्तिगत हुन सक्छ, तर त्यसको खुसी सामूहिक हुन्छ ।
त्यसैले छठमा व्रतालुलाई सम्मान गरौँ, घाट सफा राखौँ, प्रकृतिको संरक्षण गरौँ र घरका काममा सकेको सहयोग गरौँ । अनि ठेकुवा पाक्दै गर्दा चाख्न मन लागे पनि प्रसादको मर्यादा नबिर्सौँ । छठको शुभकामना !

























