
इटहरी । इटहरीको जनता बहुमुखी क्याम्पसले भारतका २ वटा प्रतिष्ठित विश्वविद्यालयसँग सम्झौता गरेको छ ।
सामुदायिक स्तरबाट इटहरीमा सञ्चालित जनता क्याम्पसले पहिलो पटक भारतको हरियाणामा रहेको बाबा मस्तनाथ र भारतकै राजस्थानमा रहेको श्री जे जे टी विश्वविद्यालयसँग सम्झौता गरेको हो ।
बाबा मस्तनाथ विश्वविद्यालयसँग असार २४ गते क्याम्पसको टोली त्यहाँ गएर सम्झौता गरेका हुन् ।
विश्वविद्यालयका कुलपति प्रोफेसर डा. एचएल बर्मा, रजिस्ट्रार प्रोफेसर डा. विनोदकुमार, सहायक रजिस्ट्रारसहित अन्य विभागीय प्रमुख र क्याम्पसका तर्फबाट सञ्चालक समितिका अध्यक्ष विकास केसी खत्री नेतृत्वको टोली सहभागी रहेको सम्झौताबारे जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलन गर्दै जानकारी दिइयो ।
दुवै संस्थाबीच भएको ५ वर्षे सम्झौतामा शैक्षिक, अनुसन्धान र सांस्कृतिक आदानप्रदानलाई प्रोत्साहन गर्ने उल्लेख गरिएको छ ।
बाबा मस्तनाथ विश्वविद्यालय सन् २००२ मा स्थापित भएर प्राविधिक, चिकित्सा, मानविकी र सामाजिक विज्ञानका क्षेत्रमा स्नातक, स्नातकोत्तर तथा अनुसन्धानका कार्यक्रम गर्दै आएको छ ।
यस्तै, राजस्थानको श्री जे जे टी विश्वविद्यालयसँग असार २५ गते ५ वर्षे सम्झौता गरिएको छ । विश्वविद्यालयमा विज्ञान, इन्जिनियरिङ, व्यवस्थापन र समाजशास्त्र क्षेत्रमा स्नातक र स्नातकोत्तर कार्यक्रम रहेका छन् ।
दुवै विश्वविद्यालयसँगकाे सम्झौतापछि अब अध्ययन अनुसन्धान र अन्तर्राष्ट्रिय समन्वयका माध्यमबाट गुणस्तरीय शिक्षामा थप अगाडि बढ्ने विश्वास रहेको क्याम्पसका अध्यक्ष केसीले बताए ।
उनका अनुसार जनता क्याम्पसले सम्झौता गरेसँगै अबको ३ महिनाभित्र अन्तर्राष्ट्रिय स्तरको शैक्षिक सम्मेलन गर्ने भएको छ । यसका लागि आवश्यक बजेट स्थानीय सरकारसँग पहल गरिने उनले बताए ।
क्याम्पसले गत वर्ष भारतका ७ वटा कलेजसँग सम्झौता गर्न प्रस्ताव गरेका मध्ये ५ वटाले स्वीकार गरेका थिए । स्वीकार गरेका मध्ये प्राथमिकताका आधारमा २ वटासँग सम्झौता गरिएको क्याम्पसका प्राध्यापक डा. वेणु सिटौलाले बताए ।
उनका अनुसार नाम चलेका विदेशी विश्वविद्यालयसँग सम्झौता भएसँगै अब दुवै पक्षलाई अनुसन्धान तथा संयुक्त प्रकाशन गर्न, युथ इनोभेसन समिट, डिजिटल शिक्षा पाठ्यक्रम सुधार, सांस्कृतिक सहकार्य र शिक्षा क्षेत्रमा दिगो विकासका कार्यक्रमहरू लागू गर्न सहज हुनेछ ।
दुई पक्षीय सम्झौतालाई थप कार्यान्वयन गर्नका लागि संयुक्त समन्वय समिति गठन, पहिलो पल्ट संयुक्त सेमिनार, आगामी शैक्षिक सत्रदेखि शिक्षक विद्यार्थी ज्ञान आदानप्रदान, सहकार्यमा आधारित अनुसन्धान एवम् डिजिटल प्लेटफर्मको विकास र वार्षिक नेपाल –भारत शैक्षिक शिखर सम्मेलन गरिने गरी काम हुनेछ ।
जनता बहुमुखी क्याम्पसले कोशी र मधेस प्रदेशका विद्यार्थीलाई उच्च शिक्षा प्रदान गर्दै आएको छ ।
विश्वविद्यालय अनुदान आयोग नेपालबाट गुणस्तर सुनिश्चितता प्रत्यायानको प्रमाणपत्र प्राप्त गर्न सफल यस क्याम्पसमा स्नातक तहमा बीएड, बीबीएस, बीए, बीआइसीटीई तथा स्नातकोत्तरतर्फ एमएडसँगै एमबीएसका शैक्षिक कार्यक्रम सञ्चालनमा छन् ।
कक्षा ११ र १२ का शैक्षिक कार्यक्रम पनि सञ्चालन गरेको छ । क्याम्पसमा ५ हजार ८ सय विद्यार्थी अध्ययनरत रहेको बताइएको छ ।
क्याम्पसले २ वर्षको अवधिमा गरेको प्रगति विवरण सार्वजनिक गरियो । सहायक क्याम्पस प्रमुख इन्द्र प्याकुरेलले प्रस्तुत गरेको प्रगति विवरणमा विद्यार्थीका लागि ६ वटा नयाँ बस थप, भौतिक संरचना निर्माण, स्ववियू भवन, शुद्ध खानेपानीको व्यवस्था, कम्प्युटर, सुरक्षाका लागि सीसी क्यामेरालगायत अन्य संरचना थपिएको उल्लेख गरिएको छ ।
त्यस्तै, छात्रावास निर्माणका लागि राष्ट्रिय योजना आयोगबाट यस वर्ष ४ करोड ९६ लाख रुपैयाँ स्वीकृत भएको छ ।
जसमा पहिलो चरणमा १ करोड ४२ लाखको काम सुरु भएको छ । छात्रावास निर्माण सम्पन्न भएपछि यहाँ पढ्न आउने विद्यार्थीहरूले डेरामा बस्नु पर्ने बाध्यता अन्त्य हुनेछ ।

























