
काठमाडौं । वरिष्ठ गायिका अञ्जना गुरुङलाई मिलाप मासिकले ‘स्वरमाधुरी’ मिलाप सम्मान अर्पण गरेको छ । काठमाडौंमा आयोजित एक विशेष समारोहबीच उनलाई मिलाप मासिकको कात्तिक अंकको कभर सम्मान हस्तान्तरण गरियो ।
चितवनमा जन्मिएर हाल अमेरिकामा बस्दै आएकी गायिका गुरुङले आफ्नो गायन यात्रामा एक हजारभन्दा बढी गीत श्रोता तथा दर्शकमाझ ल्याइसकेको बताइन्। सम्मान ग्रहण गर्ने क्रममा केही भावुक हुँदै उनले भनिन्, “गीतसंगीत मेरो जीवन हो। श्रोता-दर्शकले माया गरेर आज यहाँसम्म आइपुगेकी हुँ।”
उनले आफ्ना सयौँ गीत मन पराइएकोमा आफूलाई भाग्यमानी रहेको बताउँदै मिलापले आफ्नो कार्यलाई विस्तृत रूपमा प्रस्तुत गर्दै सम्मान गरेकोमा कृतज्ञता व्यक्त गरिन्। कार्यक्रममा उपस्थितहरूको आग्रहमा उनले चर्चित गीत ‘आँखैमा राख्छु मेरो देश’ प्रत्यक्ष गाइन्।
मिलाप मासिकका सम्पादक कृष्ण भुसालले मिलापले १५० जति अंक विशेष व्यक्ति र समसामयिक विषयमा प्रकाशन गरिसकेको जानकारी दिए र कात्तिक अंकमा अञ्जना गुरुङलाई ‘स्वरमाधुरी’ कभर स्टोरी तयार पारेको बताए।
कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठले सम्पादक भुसालको आग्रहमा ‘स्वरमाधुरी’ आवरण आलेख तयार पारेको बताउँदै अब गायिका गुरुङलाई यो उपाधिबाट पनि पुकारिने विश्वास व्यक्त गरे। उनले गायिकामा गायनको विलक्षण प्रतिभा रहेको जिकिर गरे। कार्यक्रमका प्रमुख अतिथि महाकाव्यकार खेमनाथ दाहालले गायिका गुरुङमा वंशानुगत गायन क्षमता आएको बताउँदै उनी जहाँ रहे पनि ‘स्वरमाधुरी’ जीवन्त रहने जिकिर गरे।
वरिष्ठ गायक तथा संगीतकार कन्हैया सिंह परियार (जो गायिका अञ्जना गुरुङका श्रीमान् हुन्) ले अञ्जनाको गायनलाई मिलापले प्राथमिकता दिएर सम्मान गरेकोमा बधाई दिए। नेपाली सांगीतिक क्षेत्रमा आदर्श जोडीको छवि बनाएका अञ्जना गुरुङ र कन्हैया सिंह परियारले निरन्तररूपमा नेपाली गीतसंगीतको क्षेत्रमा विशिष्ट योगदान पुर्याएका एकजना संगीतकर्मीलाई नगद राशिसहित ‘कन्हैया-अञ्जना राष्ट्रिय संगीत पुरस्कार’ मार्फत सम्मान गर्दै आएका छन्।
यस वर्षको ‘कन्हैया-अञ्जना राष्ट्रिय संगीत पुरस्कार-२०८२’ गायक कमल विक ‘निर्मोही’ लाई ५१ हजार रुपैयाँ राशिसहित प्रदान गरिने भएको छ। गायिका अञ्जना गुरुङका ‘म त काली सुन्दरी’, ‘बदनाम भए म तिम्रै कारणले’, ‘ठ्याक्कै भेटौंला’, ‘जसले मुटु चुडेर लग्यो’ लगायत सयौँ गीतहरू श्रोता-दर्शकबीच निकै लोकप्रिय छन्।
समारोहमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्वअध्यक्ष राधेश्याम लेकाली, मिलाप फाउण्डेशन अध्यक्ष गीता अधिकारी, पत्रकार किशन अर्याल, निर्देशक माधव खरेल लगायतको उपस्थिति थियो।



















