
काठमाडौं । बहुप्रतीक्षित नेपाली चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’ ले अन्ततः आफ्नो प्रदर्शन मिति निश्चित गरेको छ। निर्माण पक्षका अनुसार यो चलचित्र आगामी मंसिर १८ गते देखि देशभरका सिनेमा हलहरूमा रिलिज हुने भएको छ ।
पटकपटक प्रदर्शन मिति तोकेर पनि स्थगन हुँदै आएको यो चलचित्रले नयाँ पोस्टर सार्वजनिक गर्दै नयाँ मिति तय गरेको हो । यसअघि जेनजी आन्दोलन, बाढी पहिरो तथा अन्य चलचित्रको बाक्लो लाइनअपका कारण यो सिनेमा पूर्वनिर्धारित मितिमा प्रदर्शन हुन सकेको थिएन ।
चलचित्रका निर्माता विनोद पौडेल ले सबैको सल्लाह र सुझाव अनुसार मंसिर १८ गते प्रदर्शनमा आउने निर्णय गरिएको जानकारी दिँदै दर्शकको साथ र सहयोगको अपेक्षा गरेका छन् ।
सुशान्त गौतम निर्देशित यस चलचित्रमा कामेश्वर चौरसिया, सरिता गिरी, किरण श्रेष्ठ, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, प्रकाश दाहाल र शिशिर वाङ्देल लगायतका कलाकारहरूको मुख्य भूमिका रहेको छ ।
यो सिनेमामा मुकेश खनाल को लेखन, मदन थापा को क्रिएटिभ निर्देशन, शरद महतो को डीओपी, र मदन घिमिरे को सम्पादन रहेको छ। चलचित्रका निर्माताहरू विनोद पौडेल र गुञ्जन गिरी हुन् ।



















