
विराटनगर । एमबीबीएसको प्रवेश परीक्षामा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल ३ जना विद्यार्थीलाई सोमबार विराटनगरमा सम्मान गरिएको छ ।
विराटनगरको ग्रिनल्याण्ड कलेजले कार्यक्रमको आयोजना गरेर पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल विद्यार्थीका साथै कलेजको आन्तरिक परीक्षामा उत्कृष्ट अंक ल्याएका विद्यार्थीलाई सम्मान गरेको हो ।
ग्रिनल्याण्ड कलेजमा कक्षा ११ र १२ मा अध्ययन पूरा गरी एमबीबीएसको प्रवेश परीक्षामा पूर्ण छात्रवृत्ति पाएका विद्यार्थीहरूलाई सम्मान गरिएको छ।
प्रवेश परीक्षाको ५१ औँ स्थानमा स्मृति खाँ, १०४ औँ स्थानमा अभिषेक मण्डल र २५९ औँ स्थानमा काव्या यादवले नाम निकाल्न सफल भएका छन् ।
त्यस्तै, बिन्दिया दासले बीएससी नर्सिङ र बीपीएच दुवैमा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएकी छन् ।

त्यसैगरी, कलेजको कक्षा ११ र १२ को विभिन्न संकायमा लिएको परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई समेत सम्मान गरिएको थियो । कलेजले कक्षा ११ र १२ का उत्कृष्ट विद्यार्थीहरूलाई समेत सम्मान गरेको छ ।
कक्षा ११ को विज्ञान संकायतर्फ दिप्रसन सुवेदी, देवानन्द चौधरी दोस्रो र चन्द्रकान्त मण्डल तृतीय भए । व्यवस्थापन संकायतर्फ सुदीप साह प्रथम, मोनिका मण्डल द्वितीय र मेघाकुमारी यादव तृतीय भइन् ।
यस्तै, कक्षा १२ को व्यवस्थापन संकायतर्फ भारती यादव प्रथम, ओमप्रकाश यादव द्वितीय र अस्मिताकुमारी गोइत तृतीय भए । विज्ञान संकायतर्फ लीलाकान्त झा प्रथम, धिरज राजवंशी द्वितीय र जितेनकुमार राय तृतीय भए ।
कार्यक्रममा बोल्दै स्मृति खाँले मेहनत र शिक्षकको निर्देशनअनुसार अध्ययन गरे सफलता पाउन सकिने बताइन् । उनले भनिन्, ‘जति समय पढ्न बस्ने हो, त्यस बेला पढाइमा मात्रै ध्यान दिए पुग्छ ।’
एक पटक असफल भइयो भने निराश नभई अर्को पटकलाई उत्कृष्ट गर्ने गरी अध्ययन गर्दा लक्ष्य पूरा हुने उनले सुनाइन् । अर्का विद्यार्थी अभिषेक मण्डलले धैर्यता, लगनशीलता र नियमितताले आफू सफल भएको बताउँदै विद्यार्थीले शिक्षकको मार्गदर्शन पछ्याए अवश्य सफलता मिल्ने बताए ।
कार्यक्रममा बोल्दै ग्रिनल्याण्ड कलेजका प्रिन्सिपल दिनेश दाहालले कलेजले प्रदान गर्दै आएको गुणस्तरीय शैक्षिक वातावरणका कारण विद्यार्थीहरूले निरन्तर राम्रो नतिजा ल्याइरहेका बताए ।

























