
इटहरी । इटहरी उपमहानगरपालिका –१ मा रहेको राष्ट्रिय माध्यमिक विद्यालयले ९५ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ ।
विद्यालयको ७० औँ वार्षिकोत्सवको अवसरमा बाल विकासदेखि कक्षा १२ सम्म अध्ययन गर्ने विद्यार्थीलाई दाताले स्थापना गरेको २७ लाख बराबरको अक्षय कोषको ब्याजबाट प्राप्त रकम बराबरको छात्रवृत्ति वितरण गरिएको हो । अहिलेसम्म विद्यालयमा ३७ वटा अक्षय कोष विभिन्न दाताले स्थापना गरेको विद्यालय प्रशासनले जनायो ।
विद्यालयले वर्षभरि विभिन्न गतिविधिमा उत्कृष्ट हुने छात्रा छात्रलाई पनि पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेको छ ।
दाताहरूले स्थापना गरेको अक्षय कोषबाटै उत्कृष्ट शिक्षण गर्ने शिक्षक शिक्षिकामध्ये खगिनकुमार चौधरी, सागर कटवाल र युनिसा बस्नेतलाई नगदसहित सम्मान गरियो । उनीहरूलाई विद्यार्थीले अन्तिम परीक्षामा प्राप्त नतिजाका आधारमा छनोट गरेर पुरस्कार तथा सम्मान गरिएको हो ।
साथै, बढी समय विद्यालय उपस्थित हुने शिक्षक शिक्षिकामध्ये सावित्रा श्रेष्ठ, इन्दिरा थापा र कुमारी भारतलाई पनि नगदसहित सम्मान गरियो । विद्यालयको तर्फबाट फरक फरक विधामा उत्कृष्ट कार्य गर्ने शिक्षक शिक्षिकामध्ये रोशना नेपाल, वन्दना दाहाल, अन्तिम राई, लोकबहादुर भण्डारी, भूपराज पुरी र लक्ष्मण घिमिरेलाई नगदसहित सम्मान गरिएको थियो ।
वार्षिकोत्सवको अवसरमा विद्यालयमा अक्षय कोष स्थापना गर्नेसँगै अन्य भौतिक पूर्वाधारतर्फ सहयोग गर्ने ९ जनालाई मरणोपरान्त सम्मान गरियो । विद्यालयमा बर्सेनि अक्षय कोष स्थापना गर्ने क्रम बढी रहँदा यस वर्षमात्रै ६ वटा नयाँ अक्षय कोष स्थापना भएको विद्यालयका प्रधानाध्यापक सरनकुमार बस्नेतले बताए ।
विद्यालयले यस वर्षदेखि ‘टिचर अफ दि इयर’ र ‘स्टुडेन्ट अफ दि इएर’ घोषणा गरेकोमा शिक्षकतर्फ युवराज काफ्ले र विद्यार्थीतर्फ कक्षा ९ का कृष्ण खनाल घोषित भए । दुवैलाई नगदसहित सम्मान गरियो ।
सो अवसरमा आर्थिक वर्ष २०८१ / ०८२ को वार्षिक आय–व्यय विद्यालयका प्रधानाध्यापक सरनकुमार बस्नेतले प्रस्तुत गरे । जसमा आन्तरिक र बाह्य गरी वार्षिक आम्दानी ४ करोड ८८ लाख ९६ हजार १४६ रुपैयाँ र व्ययतर्फ ४ करोड ८७ लाख ५० हजार ७२ रुपैयाँ प्रस्तुत गरिएको थियो ।
सोही क्रममा भूतपूर्व विद्यार्थीद्वारा २० लाख रुपैयाँ खर्चेर निर्माण गर्न लागिएको सभा हलको शिलान्यास गरियो ।
वार्षिकोत्सवको अवसरमा साता व्यापी खेलकुद प्रतियोगिता भएको थियो ।
खेलकुदका ५१ वटा विभिन्न विधामा उत्कृष्ट ३ सय जनालाई हरेक दिन कार्यक्रम सम्पन्न भए लगतै पुरस्कार प्रदान गरिएको थियो । विद्यालयको वार्षिकोत्सव विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कोविदजंग कार्कीको अध्यक्षता भएको थियो ।

























