
विराटनगर । मोरङको जहदा गाउँपालिकाले विद्यालय शिक्षा प्रणालीलाई व्यवस्थित, पारदर्शी र व्यवहारिक बनाउन शैक्षिक सुधारका २१ बुँदे कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाएको छ ।
कार्यक्रमबाट विद्यालयका आधारभूत सेवा, प्राविधिक शिक्षा, जनशक्ति व्यवस्थापन, छात्रवृत्ति, अनुदान, पारदर्शिता र शैक्षिक गुणस्तरका सूचकहरूमा उल्लेखनीय सुधार भएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख दीपक खनालले बताए । उनका अनुसार गाउँपालिकामा माध्यमिक तथा निम्न माध्यमिक विद्यालयहरूमा विषयगत शिक्षकको अभाव समाधान गर्न २७ जना स्थायी विषयगत शिक्षकको व्यवस्था गरिएको छ ।
यसले सिकाइ निरन्तरता र गुणस्तरमा ठूलो प्रभाव पारेको खनालको भनाइ छ । प्राविधिक क्षमतामा प्रोत्साहन पुर्याउने उद्देश्यसहित शैलजा आचार्य पोलिटेक्निक इन्टिच्युटमा अध्ययनरत ८७ विद्यार्थीलाई प्राविधिक छात्रवृत्ति उपलब्ध गराइएको जानकारी उनले दिए ।
शिक्षक सेवा आयोगका लागि तयारी कक्षा सञ्चालन गरी गाउँपालिकाले ५५ जना युवालाई आयोगमा उत्तीर्ण हुन सहयोग पुर्याएको छ । जसलाई स्थानीय क्षमता निर्माणका दृष्टिले महत्वपूर्ण उपलब्धि मानिएको छ ।
विद्यालयको दैनिक कार्यसञ्चालन सुधार्नका लागि शौचालय सफाइका लागि छुट्टै कर्मचारी नियुक्त गरिएको छ । स्वच्छ पिउने पानीको व्यवस्था र २५ विद्यालयमा ई–हाजिरी प्रणालीको व्यवस्था गरिएको खनालले बताए । ई–हाजिरीले शिक्षक उपस्थिति र उत्तरदायित्वमा पारदर्शिता ल्याएको छ ।
शिक्षा नियमावलीअनुसार स्थायी शिक्षकलाई विद्यालय नेतृत्वको जिम्मेवारी दिइएपछि विद्यालय व्यवस्थापनमा स्थिरता आएको गाउँपालिका अध्यक्ष जितेन्द्रप्रसाद साहले बताए । उनका अनुसार करार शिक्षक नियुक्तिमा नातावाद–कृपावाद अन्त्य गर्दै निष्पक्ष तालिम, विज्ञापन र छनोट प्रक्रियालाई पालिकाले पारदर्शी बनाएको छ ।
‘विद्यालय शिक्षालाई स्थानीय आवश्यकता अनुसार अनुकूल बनाउन स्थानीय पाठ्यक्रम निर्माण गरी लागू गरिएको छ,’ अध्यक्ष साहले भने, ‘पालिकाले एकीकृत स्थानीय शिक्षा योजना पनि तयार पारेको छ ।’ उनका अनुसार कक्षा ११ मा अध्ययन गर्ने छात्राका लागि साइकल वितरण गरिएको छ भने विपन्न र जेहेन्दार विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्तिको व्यवस्था गरिएको छ ।
विद्युत महसुल अनुदानमार्फत विद्यालयको आर्थिक बोझ कम गरिएको छ । माध्यमिक विद्यालयहरूमा सीसी क्यामेरा जडान भएपछि सुरक्षा र अनुशासनात्मक पक्ष मजबुत भएको छ ।
विद्यार्थीहरूमा नेतृत्व क्षमता र सामाजिक उत्तरदायित्व विकास गर्न स्काउट कार्यक्रम सञ्चालन गरिएको पालिकाले जनाएको छ । अंग्रेजी माध्यममा कक्षा संचालन गर्ने विद्यालयहरूलाई प्रोत्साहन अनुदान प्रदान गरिँदै आएको छ ।
कक्षा १ देखि ५ सम्मका मुख्य विषयहरूको न्यूनतम सिकाइ उपलब्धि मापदण्ड तयार गरी सिकाइ परिणामलाई नाप्न व्यवस्थित आधार तयार गरिएको अध्यक्ष साहको भनाइ छ । उनका अनुसार कुल बजेटको २० प्रतिशत शिक्षा क्षेत्रमा विनियोजन गरेर शिक्षालाई प्रमुख प्राथमिकतामा राखिएको छ ।
शिक्षकहरूको दैनिक योजना प्रणाली सुधार गर्न शिक्षक डायरीको व्यवस्था गरिएको छ भने शिक्षक पोसाक र परिचयपत्र अनिवार्य गरेर विद्यालय वातावरणलाई अनुशासित बनाइएको उनको भनाइ छ । गाउँपालिकाले कक्षा १२ को परीक्षा केन्द्र स्थानीय तहमै कायम गरी विद्यार्थी र अभिभावकलाई आर्थिक तथा व्यवस्थापकीय रूपमा सहज बनाएको छ ।
शैक्षिक सुधारका २१ बुँदे कार्यक्रमले जहदा गाउँपालिकालाई कोशी प्रदेशकै उदाहरणीय शैक्षिक सुधार मोडेलमा लैजान सहयोग गरेको साहको दाबी छ । शिक्षा क्षेत्रलाई गाउँपालिकाले निरन्तर प्राथमिकतामा राख्ने उनले बताए ।

























