
विराटनगर । कोशी प्रदेश सरकारको मनमोहन प्राविधिक विश्वविद्यालयले योग प्रशिक्षक उत्पादन गर्न थालेको छ । प्रदेशका विभिन्न संघसंस्थाहरु र पालिकाहरुको सहकार्यमा मनमोहनले चरणबद्ध प्रशिक्षण दिलाएर प्रशिक्षक उत्पादन गर्न थालेको हो ।
रोग लागेर उपचार गर्नुभन्दा रोग नै लाग्न नदिन तथा मानिसलाई स्वस्थ्य बनाउने उदेश्य लिएर समाजिक उत्तरदायित्वअन्तर्गत दक्ष प्रशिक्षकबाट प्रशिक्षण दिलाएर योग प्रशिक्षक उत्पादनमा सहयोग गरिएको विश्वविद्यालयका तालिम संयोजक विकास राईले बताए । संयोजक राईका अनुसार मंसिर २० मा झापाको दमक नगरपालिका–८ स्थित वडा कार्यालयको आयोजनामा विश्वविद्यालयका उपकुलपति डाक्टर सुवाषश्री पोखरेलले ४५ दिने योग प्रशिक्षण उद्घाटन गरेका छन् ।
५० जना सहभागी उक्त्त प्रशिक्षण शिविरमा दमक नगरपालिकाका उपमेयर रेगिना भट्टराई, वडाध्यक्ष धर्मप्रसाद दाहाल र स्थानीय बुद्धिजीवी एवं समाजसेवी सहभागी थिए । त्यस्तै, ५ महिनाअघि मोरङको उर्लाबारीमा ब्रम्हकुमारी राजयोग सेवा केन्द्रको आयोजनामा योग प्रशिक्षण शिविर सञ्चालन गरेर ४४ जना योग प्रशिक्षक विश्वविद्यालयले उत्पादन गरेको थियो ।
विश्वविद्यालयले दक्ष प्रशिक्षकबाट ३ चरणको योग प्रशिक्षण दिएर प्रशिक्षकहरु उत्पादन गराउँछ । योग शिविरमा प्रशिक्षक र उत्पादन भएका नयाँ प्रशिक्षकहरुले प्रशिक्षण दिएको १ बर्षसम्मको खर्च विश्वविद्यालयले बेहोर्छ ।
कोशी प्रदेशका गाउँगाउँमा प्रशिक्षण चलाएर विश्वविद्यालयले योग प्रशिक्षक उत्पादनको लक्ष्य राखेको छ । मनमोहन प्राविधिक विश्वविद्यालयले ‘स्कुल अफ एप्लाईड हेल्थ साईन्स’मार्फत चाँडै प्राकृतिक चिकित्सा सम्बन्धी उच्च शिक्षाको पठनपाठन पनि संचालन गराउने तयारी गरिरहेको छ ।

























