इटहरीमा अन्तर्राष्ट्रियस्तरको शैक्षिक सम्मेलन सुरु

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुष ५, शनिबार १८:५७
इटहरीमा अन्तर्राष्ट्रियस्तरको शैक्षिक सम्मेलन सुरु

इटहरी । इटहरीमा शनिबारदेखि अन्तर्राष्ट्रियस्तरको शैक्षिक सम्मेलन सुरु भएको छ । उच्च शिक्षामा नवीनता, अनुसन्धान र स्थायित्वका लागि २ दिनसम्म चल्ने सम्मेलनको उद्‌घाटन पूर्व रक्षा मन्त्री डा. मिनेन्द्र रिजालले गरे ।

इटहरीको जनता बहुमुखी क्याम्पसलाई पूर्वकै शैक्षिक हबको रुपमा विकास गरेर लैजाने उद्देश्यका साथ सुरु भएको सम्मेलनको पहिलो दिन ४ वटा कि नोट प्रस्तुत गरियो ।

Advertisement

जसमा त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायका डीन प्राध्यापक डाक्टर महानन्द चालिसे, त्रिभुवन विश्वविद्यालय सिइएनएएसका कार्यकारी निर्देशक डाक्टर मृगेन्द्र कार्की र क्षेत्रीय अंग्रेजी भाषा कार्यालय, अमेरिकी दूतावास, काठमाडौँ नेपाल रोजर एफ कोहेनले प्रस्तुति गरे ।

सम्मेलनमार्फत मानविकी, शिक्षा, व्यवस्थापन, भाषा शिक्षण जस्ता विविध क्षेत्रका विद्वान्, अनुसन्धानकर्ता, नीति निर्माता  तथा सरोकारवालाहरू  बिच अन्तर विषयक संवाद र सहयोगलाई विशेष महत्त्व दिँदै समकालीन चुनौतीप्रति समग्र दृष्टिकोणलाई बढवा दिन योगदान पुग्ने विश्वास लिइएको छ ।

जसका लागि विषय विज्ञहरूले ११२ वटा अनुसन्धानमूलक कार्यपत्र प्रस्तुत गर्ने सहायक क्याम्पस प्रमुख तथा सम्मेलन संयोजक इन्द्रप्रसाद प्याकुरेलले बताए  ।

उद्‌घाटन गर्दै डा. रिजालले समय सापेक्ष शिक्षामा नयाँ नयाँ अध्ययन अनुसन्धान हुनुपर्ने बताए । उनले अध्ययन अनुसन्धानले देखाएको बाटोमा आधारमा अघि बढेर देशलाई रूपान्तरणको दिसामा अघि बढाउनुपर्नेमा जोड दिए ।

सोही क्रममा जिल्ला समन्वय समिति सुनसरीका प्रमुख राजन मेहताले राजनीतिक दल र नेताप्रति हरेक सर्वसाधारणको वितृष्ण जागी रहेका बेला साँच्चै दल नेता तथा दलको रूपान्तरण गरेर परिवर्तन ल्याउने शिक्षाको सुधारबाटै अनुसन्धान हुनुपर्ने बताए ।

इटहरीका मेयर हेमकर्ण पौडेलले सम्मेलनले इटहरीको शैक्षिक विकासमा योगदान पुगेको बताए । उनले पनि समाजका हरेक नागरिकलाई सकारात्मक बाटोतर्फ अग्रसर हुने गरी अब शिक्षामा अध्ययन अनुसन्धान गर्नुपर्ने बताए ।

नेपालकै सामुदायिक कलेजमध्ये जनता बहुमुखी कलेज धेरै विद्यार्थी भएको कलेजमा पर्छ । सम्मेलनले इटहरीको शैक्षिक विकासमा योगदान पुगेको र अन्य निजी कलेजलाई अभिभावकत्व निर्वाह गर्ने भूमिका खेल्न सफल भएको क्याम्पस सञ्चालक समितिका अध्यक्ष विकास केसीले बताए । सम्मेलनमा विदेशका ४ देशका वक्ता र नेपालका नाम चलेका शैक्षिक विज्ञहरूको प्रस्तुति रहेको छ ।

सो अवसरमा इटहरीका उद्योगी भीमबहादुर पौडेलले जनता बहुमुखी क्याम्पसमा गरिब तथा जेहनदार विद्यार्थीका लागि छात्रवृत्ति प्रदान गर्न ५१ लाख रुपैयाँको अक्षयकोष खडा गर्ने घोषणा गरेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.