मदरल्याण्ड एकेडेमीमा भजन कीर्तन प्रतियोगिता 

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ ५, सोमबार १४:२०
मदरल्याण्ड एकेडेमीमा भजन कीर्तन प्रतियोगिता 

विराटनगर । विराटनगर–४ को मदरल्याण्ड एकेडेमीले सरस्वती पूजाको अवसरमा भजन कीर्तन प्रतियोगिता आयोजना गर्ने भएको छ ।

एकेडेमीले पत्रकार सम्मेलन गर्दै माघ ९ गते सरस्वती पूजाको अवसरमा भजन कीर्तन प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिएको हो ।

Advertisement

एकेडेमीका प्रिन्सिपल मोहन बुढाथोकीले यस वर्षदेखि भजन कीर्तन प्रतियोगितालाई अझ व्यवस्थित बनाएर लैजान लागेको जानकारी दिए । उनले विद्यार्थीमा अनुशासन, करुणा, कला, संस्कार, संस्कृति तथा नैतिकताको मानसिक र भावनात्मक विकास गराउनुका लागि विद्यालय स्थापना कालदेखि नै सरस्वती पूजाका अवसरमा भजन कीर्तन कार्यक्रम गर्दै आएको बताए ।

सुरुवाती चरणमा भजन कीर्तन स्कुलमै मात्रै सीमित भएको र समाजमा देखिँदै आएको विकृति र बाध्यबाधनलाई सुधार, संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले ०७९ सालदेखि यसलाई अझ प्रभावकारी र व्यवस्थित बनाउँदै प्रतियोगितात्मक रूपमा सञ्चालन गर्दै आएको प्रिन्सिपल बुढाथोकीले प्रस्ट्याए ।

सुरुवाती चरणमा सीमित भए पनि प्रतियोगितात्मक रूपमा अघि बढेपछि खुला गरिएको हो । एकेडेमी परिसरमै आयोजना हुने भजन कीर्तन प्रतियोगिताको पुरस्कार राशि यस वर्ष बढाइएको छ ।

भजन कीर्तन प्रतियोगिताको प्रथमले २५ हजार, द्वितीयले २० हजार, तृतीयले १५ हजार र सान्त्वना स्वरूप सहभागी टोलीलाई जनही ३ हजार ५ सय रुपैयाँ प्राप्त गर्ने छन् । यस प्रतियोगिताको आकर्षण बढेसँगै प्रत्येक वर्ष सहभागीको संख्या बढ्दै गएको बताउँदै, प्रिन्सिपल बुढाथोकीले भने, ‘सुरुमा विराटनगर क्षेत्र मात्रै सीमित थियो । अहिले यसको आकर्षण बढेपछि सुनसरीबाट पनि सहभागिता जनाउन थाल्नु भएको छ । गत वर्ष ३९ टोलीको सहभागिता रहेको थियो भने यस वर्ष ५० टोली सहभागी अनुमान गरिएको छ ।’

भजन कीर्तन प्रतियोगिताको दीर्घकालीन स्थायित्व सुनिश्चित गर्न एकेडेमीले ५० हजार बराबरको अक्षयकोष स्थापना गर्ने निर्णय गरेको छ । उक्त अक्षयकोषलाई आगामी दिनमा अभिवृद्धि गर्दै लैजाने प्रिन्सिपल बुढाथोकीले बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.