मदरल्याण्डमा लोकतान्त्रिक अभ्यास : जनमतबाट चित्रकलाका विजेता छनोट

Share this
753shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फाल्गुन ७, बिहीबार १९:१९

विराटनगर । ७६ औँ प्रजातन्त्र दिवसका अवसरमा विराटनगर महानगरपालिका–४ स्थित मदरल्याण्ड एकेडेमी स्कुलले बिहीबार आयोजना गरेको ‘मदरल्याण्ड चित्रकला प्रतियोगिता’ यस वर्ष सिर्जनात्मक कार्यक्रम मात्र रहेन । विद्यालयमै लोकतान्त्रिक अभ्यास गराइएको एउटा उदाहरणीय प्रयोग बन्यो ।

कक्षाकोठाभित्र सीमित रहने कला प्रतिस्पर्धालाई विद्यालयले मतदान प्रणालीसँग जोड्दै प्रजातन्त्रको मर्मलाई व्यवहारमै देखाउने प्रयास गरेको हो । विद्यालय प्रशासनले यसलाई ‘नौलो अभ्यास’ भनेको छ । चित्रकलाजस्तो रचनात्मक विधालाई मतदाता, मतपेटिका र मतगणनाको प्रक्रियासँग जोडेर विद्यार्थीलाई लोकतन्त्र पाठ्यपुस्तकको अध्याय मात्रै नभएर अभ्यासमार्फत बुझिने प्रणाली हो भन्ने सन्देश दिन खोजिएको छ ।

कार्यक्रमले विद्यार्थी, अभिभावक र शिक्षकलाई एउटै लोकतान्त्रिक मञ्चमा उभ्याएको देखियो । विद्यालयका प्रिन्सिपल मोहन बुढाथोकीका अनुसार प्रतियोगिताको उद्देश्य पुरस्कार वितरणमा सीमित थिएन । विद्यालय शिक्षा कक्षाकोठामा मात्र सीमित हुन नहुने सन्देश दिन तथा विद्यार्थीलाई सामाजिक उत्तरदायित्व, सहभागिता, नेतृत्व र संवादको संस्कार सिकाउन चित्रकला प्रतियोगितालाई मतदान प्रक्रियासँग जोडिएको उनले बताए ।

‘विद्यार्थीलाई चुनाव, मतदाता, मतगणना र नतिजा सार्वजनिक गर्ने प्रक्रियाका बारेमा व्यावहारिक जानकारी दिनु हाम्रो उद्देश्य थियो,’ बुढाथोकीले भने । प्रतिस्पर्धामा कक्षा १ देखि कक्षा १० सम्मका ६६ जना विद्यार्थी सहभागी भएका थिए । प्रारम्भिक चरणमा आन्तरिक छनोट गरिएको थियो । त्यसपछि छनोट भएका चित्रहरू विद्यालय परिसरमा सार्वजनिक प्रदर्शनीका रूपमा राखियो । प्रदर्शनीमा आएका अभिभावक र आगन्तुकलाई आफ्नो मन परेको चित्रका लागि मतदान गर्न दिइयो । चित्र मन पराउने अभिभावकले सो चित्र बनाउने विद्यार्थीलाई मत दिएका थिए ।

विद्यालयले १८ वर्ष उमेर पूरा गरेका नेपाली नागरिकले मात्रै मतदान गर्न पाउने व्यवस्था मिलाएको थियो । मतदान प्रक्रिया बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन गरिएको थियो । विद्यालय परिसरमै मतदाताको पहिचान, मतपत्र वितरण र मतपेटिकामा मत खसाल्ने व्यवस्था गरिएको थियो । उपस्थित अभिभावक तथा आगन्तुकले लोकतान्त्रिक अभ्यासको अनुभूति गर्दै आफ्नो मत दिएका थिए ।

मतदानका क्रममा कुल ३ हजार ६ सय ८३ मत खसेको विद्यालयले जनाएको छ । तीमध्ये १७ मत बदर भएका थिए । बदर मतको कारण तोकिएको सीमाभन्दा बाहिर चिन्ह लगाउनु वा एक जनाले अनुमति दिइएकोभन्दा बढी व्यक्तिलाई मतदान गर्नु रहेको विद्यालय प्रशासनले जानकारी दिएको छ । यस प्रतियोगितामा एक मतदाताले बढीमा चार जनासम्मलाई मत दिन पाउने व्यवस्था गरिएको थियो । विद्यालयका अनुसार यो प्रावधानले प्रतिस्पर्धामा रहेका प्रतिभालाई तुलनात्मक रूपमा समान अवसर दिन सहयोग पुर्‍याएको थियो ।

मतदानका क्रममा विद्यालय परिसर उत्साहपूर्ण देखिन्थ्यो । प्रतिस्पर्धामा रहेका विद्यार्थीहरु अभिभावकलाई नमस्कार गर्दै आफ्ना चित्रबारे जानकारी दिन र समर्थन माग्न सक्रिय देखिएका थिए । यसले विद्यार्थीमा आत्मविश्वास र सार्वजनिक प्रस्तुतिको क्षमता विकास गर्न सघाएको शिक्षकहरूको भनाइ छ ।

नतिजाअनुसार कक्षा ७ मा अध्ययनरत रिदम गौतम २ सय ३५ मत प्राप्त गर्दै प्रथम भएका छन् । उनले १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे । १ सय ६७ मतसहित द्वितीय भएकी कक्षा ६ मा अध्ययनरत कृतिमा बुढाथोकीले ६ हजार रुपैयाँ पुरस्कार पाइन् । कक्षा ३ की गरिमा पाण्डे १ सय ५६ मतका साथ तृतीय हुँदा ४ हजार रुपैयाँ प्राप्त गरिन् । कक्षा ७ का संकल्प चौधरीले १ सय ५४ मतसहित सान्त्वना स्थान हासिल गरेर २ हजार रुपैयाँ नगद पुरस्कार पाए ।

शीर्ष चार जनाबीच मतान्तर न्यून रहेको र प्रतिस्पर्धा कडा रहेको परिणामले देखाएको छ । विजेता विद्यार्थीलाई कार्यक्रम संयोजक मुस्कान थापा, चित्रकला प्रशिक्षक विशाल साह र विद्यालय व्यवस्थापन समिति अध्यक्ष गीता गौतमलगायत शिक्षकहरूले पुरस्कार वितरण गरेका थिए । कार्यक्रमकै क्रममा प्रजातन्त्र दिवसको ऐतिहासिक महत्वबारे जानकारी गराइएको थियो भने सहिदहरूप्रति सम्मान व्यक्त गरिएको थियो ।

विद्यालयले चित्रकलाका विजेता छनोटमा लोकतान्त्रिक प्रक्रिया अपनाउनुको कारण पनि यही ऐतिहासिक सन्देशलाई व्यवहारमा उतार्नु रहेको जनाएको छ । कार्यक्रमको अर्को महत्वपूर्ण पक्ष अभिभावकको सक्रिय सहभागिता हो । सामान्यतया विद्यालयका सिर्जनात्मक कार्यक्रमहरूमा अभिभावक दर्शकको भूमिकामा सीमित हुने गरेका छन् ।

तर, यसपटक उनीहरूलाई प्रत्यक्ष मतदाता बनाइएको थियो । यसले अभिभावकलाई विद्यालय गतिविधिमा गहिरो रूपमा संलग्न गराउने अवसर दिएको प्रिन्सिपल बुढाथोकी बताउँछन् । आफ्ना सन्तानको प्रतिभा नजिकबाट अवलोकन गर्ने, अन्य विद्यार्थीका सिर्जनालाई मूल्यांकन गर्ने र विद्यालयसँग प्रत्यक्ष संवाद गर्ने अवसर यस कार्यक्रमले दिएको अभिभावकहरूको प्रतिक्रिया छ ।

स्थानीय अभिभावक सुदीप लम्सालका अनुसार मतदान प्रणालीमार्फत विजेता चयन गर्नु आफैंमा प्रतीकात्मक रूपमा महत्वपूर्ण अभ्यास हो । उनका अनुसार प्रजातन्त्र दिवसको अवसरमा गरिएको यस्तो अभ्यासले विद्यार्थीलाई लोकतन्त्र राजनीतिक नारा नभई दैनिक जीवनमा प्रयोग गर्न सकिने प्रक्रिया हो भन्ने बुझाएको छ । मत हाल्ने, मत गन्ने, बदर मत छुट्याउने र नतिजा सार्वजनिक गर्ने सम्पूर्ण प्रक्रिया विद्यार्थीले प्रत्यक्ष अवलोकन गरेका थिए । यसले भविष्यमा सचेत मतदाता बन्ने आधार तयार पारेको बताइन्छ ।

विद्यालयले चित्रकलालाई व्यावसायिक सम्भावनासँग जोड्ने लक्ष्य पनि लिएको छ । उत्कृष्टता हासिल गरेका विद्यार्थीलाई भविष्यमा कला क्षेत्रमा व्यावसायिक रूपमा अघि बढ्न सक्ने वातावरण सिर्जना गर्ने सोच राखिएको प्रिन्सिपल बुढाथोकीले बताए । उनका अनुसार कला शिक्षालाई सह–पाठ्यक्रम गतिविधिको रूपमा मात्र नभएर सम्भावित करियरको रूपमा हेर्ने दृष्टिकोण विकास गर्न आवश्यक छ । विद्यालय तहबाटै यस्तो सोच विकास गराउनु सकारात्मक कदम भएको अभिभावकहरूको धारणा छ ।

नेपालमा कला क्षेत्र अझै पनि संरचनागत चुनौती र सीमित अवसरका कारण संघर्षरत मानिन्छ । यस्तो अवस्थामा विद्यालय तहबाटै प्रतिभा पहिचान र प्रोत्साहन गर्ने अभ्यासले दीर्घकालीन प्रभाव पार्न सक्ने सरोकारवाला बताउँछन् । मदरल्याण्ड एकेडेमीले गरेको यो प्रयोग पारदर्शी र व्यवस्थित रूपमा सञ्चालन गरिएको भन्दै सहभागीहरूले प्रशंसा गरेका छन् ।

कार्यक्रमले विद्यालयलाई पढाउने संस्था मात्र नभई सामाजिक चेतना र लोकतान्त्रिक संस्कार विकास गर्ने अभ्यासशाला पनि हो भन्ने सन्देश दिएको अभिभावकहरु बताउँछन् । परम्परागत ढाँचाभन्दा बाहिर निस्केर नयाँ प्रयोग गर्ने साहसलाई सकारात्मक रूपमा हेरिएको छ । यस्ता अभ्यासलाई आगामी वर्षहरूमा अझ प्राविधिक रूपमा सुदृढ, पारदर्शी र सन्तुलित बनाउँदै लैजान सके अन्य विद्यालयहरूका लागि पनि नमूना बन्न सक्ने सम्भावना अभिभावकहरूले व्यक्त गरेका छन् ।

प्रजातन्त्र दिवसको अवसरमा गरिएको सिर्जनात्मक प्रयोगले लोकतन्त्र सिकाउने विषय नभएर अभ्यास गर्ने संस्कार हो भन्ने सन्देश दिएको अभिभावकहरुको बुझाइ छ । विद्यालय परिसरमै मतपत्र, मतपेटिका र मतगणनासहित सम्पन्न भएको चित्रकला प्रतियोगिताले नयाँ पुस्तालाई लोकतान्त्रिक चेतनासँग जोड्ने प्रयत्न गरेको उनीहरु बताउँछन् ।

तपाइको प्रतिक्रिया
रास्वपा सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
नापी कार्यालयका सर्भेक्षकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ
साढे दुई करोडभन्दा बढीको सुनका गहनासहित महिला पक्राउ
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
कोशीमा ५७७ वडामा कांग्रेस देउवा समूहको अधिवेशन
मोरङ-६ को अधिवेशनमा कुटपिटपछि कांग्रेसले फेर्यो संयोजक
माग सम्बोधन नभएपछि छात्रवृत्ति करारका चिकित्सक आन्दोलनमा
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×