
विराटनगर । विराटनगरस्थित अरनिको कलेजमा अध्ययनरत विद्यार्थीहरूका लागि आयोजित दुई महिने ‘आर्टिफिसिएल इन्टेलिजेन्स’ (एआई) सम्बन्धी तालिम सम्पन्न भएको छ ।
सयपत्री ग्रुपको आयोजनामा भएको उक्त तालिममा कक्षा ११ र १२ का १ सयभन्दा बढी विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो ।
गत मंसिर २६ गतेदेखि सुरु भएको तालिमको समापनका अवसरमा विद्यार्थीहरूले आफूले सिकेका सीपलाई प्रयोगात्मक अभ्यासमार्फत प्रदर्शन गरेका थिए । विद्यार्थीलाई व्यापार, शिक्षा र स्वास्थ्य गरी तीन मुख्य विधामा विभाजन गरेर ‘प्रोजेक्ट वर्क’ गराइएको थियो । तालिममा सहभागी २२ वटा समूहमध्ये उत्कृष्ट ९ समूह फाइनल चरणमा पुग्न सफल भएका थिए ।
हरेक विधाबाट छानिने विजेता समूहलाई २५ हजार रुपैयाँ बराबरको गिफ्ट ह्याम्पर तथा पुरस्कार प्रदान गरिने सयपत्री ग्रुपका सिइओ श्यामकृष्ण गुप्ताले जानकारी दिए । तालिममा अनिष दाहाल, श्यामकृष्ण गुप्ता र रविन पौडेलले प्रशिक्षण दिएका थिए भने इन्जिनियर अभय कर्ण र विकास गुप्तको टोलीले निर्णायकको भूमिका निर्वाह गरेको थियो ।
समापन कार्यक्रममा बोल्दै अरनिको कलेजका प्रिन्सिपल राजेश कार्कीले किताबी ज्ञानसँगै विद्यार्थीलाई आधुनिक प्रविधिमा दक्ष बनाउनु कलेजको मुख्य उद्देश्य रहेको बताए । उनले भने, ‘हामीले विद्यार्थीको सर्वाङ्गीण विकासका लागि प्रयोगात्मक शिक्षालाई प्राथमिकता दिएका छौँ । कलेजको ‘पढ्दै, कमाउँदै’ भन्ने लक्ष्यलाई सार्थक बनाउन यस्ता प्रविधियुक्त तालिमले ठुलो सहयोग पुग्ने हाम्रो विश्वास छ ।’
दुई महिने यस तालिमले विद्यार्थीहरूलाई भविष्यको बजार र प्रविधिसँग जुध्न आत्मविश्वासी बनाएको प्रिन्सिपल कार्कीले बताए ।

























