
विराटनगर । विराटनगर–१० मा अवस्थित अरनिको सेकेन्डरी स्कुलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी हुने आफ्ना विद्यार्थीहरूलाई एक विशेष समारोहका बीच बिदाइ गरेको छ ।
आगामी चैत १९ गतेदेखि सुरु हुने एसइई परीक्षामा सामेल हुने विद्यालयको ३५ औँ ब्याचका ८४ जना विद्यार्थीलाई शुक्रबार बिदाइ गरिएको हो ।
विद्यालयको प्राङ्गणमा आयोजित उक्त समारोहमा कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरूले आफ्ना अग्रजहरूलाई सम्मानपूर्वक बिदाइ गरेका थिए । कार्यक्रममा विद्यालयका प्रिन्सिपल राजेश कार्की, निर्देशक भरत दाहाललगायत शिक्षकशिक्षिकाले विद्यार्थीहरूलाई सफलताको शुभकामना दिएका थिए ।
सो अवसरमा परीक्षार्थी विद्यार्थीहरूलाई माला, अबिर र मायाको चिनो प्रदान गरिएको थियो । बिदाइ कार्यक्रमलाई थप उल्लासमय बनाउन विद्यार्थीहरूले विभिन्न आकर्षक नृत्य तथा मनोरञ्जनात्मक प्रस्तुतिहरू समेत प्रस्तुत गरेका थिए ।

शिक्षकहरूले विद्यार्थीलाई ढुक्क भएर परीक्षामा सामेल हुन र विद्यालयको गरिमालाई उच्च राख्न हौसला प्रदान गरे । लामो समयदेखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको अरनिको स्कुलले हरेक वर्ष आफ्ना विद्यार्थीहरूलाई यसरी नै प्रोत्साहन र शुभकामनासहित बिदाइ गर्दै आएको छ।

























