
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना नवनिर्वाचित १८२ जना सांसदहरूलाई आजदेखि ‘ओरियन्टेसन’ (अभिमुखीकरण) दिन सुरु गरेको छ । संसदमा सशक्त उपस्थितिको तयारी स्वरूप रास्वपाले आफ्ना सांसदहरूका लागि ललितपुरमा प्रशिक्षण दिने कार्यक्रम आयोजना गरेको हो ।
बुधवारसम्म चल्ने यस अभिमुखीकरणमा प्रत्यक्षतर्फ निर्वाचित १२५ र समानुपातिकतर्फका ५७ जना सांसदहरूको सहभागिता रहने छ । महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार सांसदहरूलाई संसदीय अभ्यास, कानुन निर्माणको प्रक्रिया र पार्टीको एजेन्डाबारे विस्तृत जानकारी दिइने छ ।
पार्टीको यो प्रशिक्षणले नयाँ जनप्रतिनिधिहरूलाई संसदमा परिपक्व र जिम्मेवार रूपमा प्रस्तुत हुन सघाउने अपेक्षा गरिएको छ । कार्यक्रमका लागि आवश्यक सबै तयारी पूरा भइसकेको र सांसदहरू प्रशिक्षण स्थलमा जुटिसकेको आयोजकले जनाएको छ ।

























