
इटहरी । इटहरीको जनता बहुमुखी क्याम्पसको विधान संशोधन पास गर्ने निर्णयसहित १३ औँ क्याम्पस सभा शनिबार सम्पन्न भएको छ ।
क्याम्पस सञ्चालक समितिका सदस्य शिवराज दाहाल नेतृत्व समितिले पेस गरेको विधानमा सामाजिक सुरक्षा कोष, बिदा, पदपूर्ति, लेखा परीक्षणलगायतमा यसअघि भएका केही नियम संशोधन गर्ने निर्णयसहित पास भएको हो ।
सभामा क्याम्पस प्रमुख डा. गीता अधिकारीले पेस गरेको शैक्षिक प्रतिवेदन पनि पास गरियो । गत माघ १५ गते भएको क्याम्प सभा गणपूरक संख्या नपुगेर बन्द सत्र स्थगित गरिएकाले गर्दा शनिबार दोस्रो पटक भएको हो । क्याम्पस सभा सञ्चालक समितिका अध्यक्ष विकास केसी खत्रीको अध्यक्षतामा भएको थियो ।
विश्वविद्यालय अनुदान आयोग नेपालबाट गुणस्तर सुनिश्चितता प्रत्यायानको प्रमाणपत्र प्राप्त गर्न सफल जनता क्याम्पसमा स्नातक तहमा बीएड, बीबीएस, बीए, बीआइसीटीइ तथा स्नातकोत्तरतर्फ एमएडसँगै एमबीएसका शैक्षिक कार्यक्रम सञ्चालन गरेको छ ।
कक्षा ११ र १२ का शैक्षिक कार्यक्रम पनि सञ्चालन गरेको छ । यहाँ ५ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत रहेको सहायक क्याम्पस प्रमुख सञ्जीव यादवले बताए ।

























