
विराटनगर । विराटनगर महानगरपालिकाभित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूको भेलाले प्रिन्सिपल एसोसिएसन नेपाल (प्यान) को नयाँ नेतृत्व चयन गरेको छ । सामुदायिक शिक्षाको गुणस्तर उकास्ने र विद्यालय व्यवस्थापनमा सुधार ल्याउने उद्देश्यका साथ पोखरिया माध्यमिक विद्यालयका प्रधानाध्यापक खेमराज भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चुनिएको हो । संगठनलाई थप सक्रिय र प्रभावकारी बनाउने सङ्कल्पका साथ भएको यस भेलाले शैक्षिक सुधारका एजेन्डाहरूलाई प्राथमिकतामा राखेको छ ।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सत्यनारायण माध्यमिक विद्यालयका मनोजकुमार भट्टराई, सचिवमा विराट आधारभूत विद्यालयका अरविन्द यादव, सहसचिवमा सिद्धकाली आधारभूत विद्यालयका भोजराज अधिकारी र कोषाध्यक्षमा सार्वजनिक माध्यमिक विद्यालयका खगेन्द्र खवास चयन भएका छन् ।
त्यसैगरी कार्यसमिति सदस्यहरूमा जगन्नाथ कामत, झंकप्रसाद पराजुली, वेदनिधि भट्टराई, शिवराज विष्ट, चन्द्र रेग्मी, शिवचन्द्र सिंह, दधिराम नेपाल, हस्तकला राई र राजीवकुमार यादव रहेका छन् । प्यानले विराटनगरका विभिन्न सामुदायिक विद्यालयका अनुभवी शैक्षिक व्यक्तित्वहरूलाई नेतृत्वमा समेटेको छ ।
अध्यक्ष भट्टराईले कार्यभार सम्हाल्दै सामुदायिक विद्यालयको व्यवस्थापन, शैक्षिक सुधार र शिक्षक-अभिभावक बीचको समन्वयलाई मुख्य प्राथमिकता दिने बताए । उनले विद्यार्थीको सिकाइ उपलब्धिलाई थप प्रभावकारी बनाउन प्रविधिमैत्री शिक्षण प्रणालीको विस्तार गरिने जानकारी दिए । विद्यालयमा विद्यार्थी भर्ना दर बढाउन र उनीहरूलाई विद्यालयमा टिकाइराख्न प्यानले स्थानीय तहसँगको सहकार्यमा विशेष कार्यक्रमहरू सञ्चालन गर्ने उनको भनाइ छ ।
भेलामा सहभागी प्रधानाध्यापकहरूले सामुदायिक विद्यालयप्रति अभिभावकको विश्वास फर्काउन एकीकृत प्रयासको खाँचो रहेको औँल्याए । प्यानलाई विशुद्ध पेशागत र शैक्षिक फोरमका रूपमा स्थापित गर्दै सामुदायिक शिक्षाको समग्र स्तर उकास्न दीर्घकालीन रणनीति बनाउने सहमति भएको छ ।

























