
दार्चुला । सुदूरपश्चिमको दार्चुला र आसपासका क्षेत्रमा सोमबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ ।
बिहान ३ः५१ बजेतिर ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार दार्चुलाको मुराई आसपास क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो ।
रातको समयमा गएको भूकम्पका कारण स्थानीय बासिन्दा त्रसित बनेका थिए । कतिपय मानिस घरबाहिर निस्किएका थिए । यद्यपि, हालसम्म कुनै मानवीय वा भौतिक क्षतिको विवरण सार्वजनिक भएको छैन ।
दार्चुलामा छोटो समय अन्तरालमै पुनः भूकम्प गएको यो दोस्रो घटना हो । यसअघि चैत ३ गते पनि सोही जिल्लाको सितौला आसपास केन्द्रविन्दु बनाएर ४ म्याग्निच्युडको भूकम्प गएको थियो ।
सम्बन्धित निकायहरूले सम्भावित जोखिमलाई ध्यानमा राख्दै सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन् । भूकम्पपछि आउने परकम्पको सम्भावना रहिरहने भएकाले सुरक्षित स्थानमा बस्न, पुराना तथा कमजोर संरचनाबाट टाढा रहन र आवश्यक सावधानी अपनाउन सुझाव दिइएको छ ।


















