
काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले इनम सापकोटा प्रकरणमा भइरहेको अनुसन्धान प्रक्रियामाथि प्रश्न उठाएका छन् । उनले घटनासँग जोडिएका सबै विषयको निष्पक्ष र पारदर्शी छानबिन हुनुपर्ने बताएका छन् ।
एमाले केन्द्रीय कार्यालय च्यासलमा सोमबार आयोजित पत्रकार सम्मेलनमा पोखरेलले सरकारले सापकोटालाई नियन्त्रणमा लिए पनि उनीसँग सम्बन्धित मोबाइल फोन र त्यसमा जोडिएका व्यक्तिहरूबारेको अनुसन्धान अझै रहस्यकै घेरामा रहेको बताए ।
चुनावपछि सरकार गठन र सञ्चालनका विषयमा प्रधानमन्त्रीको कोर टिममा समेत उनको भूमिका रहेको भन्ने विवरण सार्वजनिक भएको पोखरेलको दाबी छ । प्रहरीले नियन्त्रणमा लिएको मोबाइल प्रधानमन्त्रीका सल्लाहकारले दुई-तीन दिनसम्म आफूसँग राखेको विषय पनि गम्भीर रहेको उनले बताए । ‘अहिले यही सरकारले इनम सापकोटालाई नियन्त्रणमा ल्याएको छ । तर पनि अनुसन्धानको प्रक्रिया रहस्यपूर्ण देखिँदै छ, पारदर्शी छैन,’ उनले भने ।
सापकोटा प्रकरणसँगै पोखरेलले प्रधानमन्त्रीको कार्यशैलीमाथि पनि प्रश्न उठाए । प्रधानमन्त्री संसद्मा उपस्थित नहुने, दलको नेता भएर पनि पार्टी बैठकको अध्यक्षता नगर्ने र अन्य राजनीतिक दलसँग संवाद नगर्ने प्रवृत्ति लोकतान्त्रिक अभ्यासअनुकूल नभएको उनको टिप्पणी थियो ।
























