
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक आकस्मिक हृदयघातको अवस्थामा प्रयोग गरिने स्वचालित बाह्य हृदय झटका दिने उपकरण जडान गरिएको छ ।
यो उपकरणले अचानक मुटुको धड्कन बन्द हुने वा गम्भीर समस्या देखिने अवस्थामा तुरुन्त प्रयोग गरेर बिरामीको ज्यान बचाउन मद्दत गर्ने बताइएको छ । चिकित्सक र स्वास्थ्यकर्मी नपुग्दै प्रारम्भिक उपचार दिन सक्ने भएकाले यसलाई जीवनरक्षक उपकरणका रूपमा लिइएको छ ।
काठमाडौं महानगरपालिका– ९ का वडाध्यक्ष रामजी भण्डारीका अनुसार यस्तो उपकरण केही मिनेटभित्रै प्रयोग गर्न सकिने भएकाले आपतकालीन अवस्थामा धेरै उपयोगी हुन्छ । उनले सार्वजनिक स्थानमा यस्ता उपकरण राखिनु स्वास्थ्य सुरक्षातर्फको महत्वपूर्ण कदम भएको बताए ।
काठमाडौं महानगरपालिकाले यस कार्यका लागि सहकार्य गर्ने संस्था र विमानस्थल प्रशासनप्रति धन्यवाद व्यक्त गरेको छ । भिडभाड हुने विमानस्थलमा यस्तो उपकरण जडान हुनु यात्रु, कर्मचारी र आगन्तुक सबैका लागि उपयोगी हुने बताइएको छ ।
स्वास्थ्य क्षेत्रका जानकारहरूले पनि यसलाई सकारात्मक पहल भन्दै यसले आपतकालीन उपचार प्रणालीलाई बलियो बनाउने बताएका छन् ।



















