
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले देश र लोकतान्त्रिक आन्दोलन अप्ठ्यारो अवस्थामा पुगेको बेला सबै शक्ति एकताबद्ध भएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याएकी छन् ।
‘भूमिगत महिला’ नामक पुस्तक चर्चासभामा बोल्दै उनले इतिहासका निर्णायक मोडहरूमा महिलाको भूमिका अग्रपंक्तिमा रहने गरेको स्मरण गराइन् । भण्डारीले देश संकट र आन्दोलन कठिन अवस्थामा पुगेको बेला महिलाहरूले नेतृत्वदायी भूमिका खेल्नुपर्ने परम्परा रहँदै आएको बताइन् ।
२०६२–०६३ को जनआन्दोलनलाई स्मरण गर्दै उनले महिला सहभागिता बढाउन निरन्तर दबाब र पहल गरिएको उल्लेख गरिन् । त्यसकै परिणामस्वरूप आन्दोलन व्यापक जनआन्दोलनमा रूपान्तरण भई सफलता हासिल गरेको उनको भनाइ थियो ।
उनले लोकतन्त्र, मौलिक हक र स्वतन्त्रताको रक्षा गर्न महिलासहित सबै नागरिकको सक्रिय सहभागिता आवश्यक रहेकोमा जोड दिइन् । अहिले राजनीतिक परिस्थितिमा परिवर्तन देखिएको उल्लेख गर्दै प्रमुख दलहरूबीच भूमिकाको पुनर्विचार आवश्यक भएको धारणा राखिन् ।
भण्डारीले नयाँ राजनीतिक पात्रहरूको उदय भइरहेको उल्लेख गर्दै अनुभवसहितका र अनुभवहीन पात्रबीच फरक हुने बताइन् । अनुभवहीन नेतृत्वको प्रवेशले मुलुकको भविष्यबारे प्रश्न उठाएको भन्दै उनले राष्ट्रिय एकता, स्वाभिमान र सार्वभौमिकताप्रति सचेत रहन आग्रह गरिन् ।
उनले सबैलाई एकताबद्ध भएर देशको लोकतान्त्रिक उपलब्धि र जनजीविकासँग सम्बन्धित मुद्दाहरूलाई संरक्षण गर्दै अघि बढ्न आह्वान गरिन् ।



















