
विराटनगर । विराटनगरको कोशी अस्पतालमा दन्त उपचारका लागि लगिएकी ६ वर्षीया बालिकालाई चिकित्सकले झापड प्रहार गरेको घटना सार्वजनिक भएपछि अस्पतालको सेवा प्रणालीमाथि गम्भीर प्रश्न उठेको छ ।
सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको उक्त घटनापछि अभिभावक, स्थानीय तथा सरोकारवालाहरूले अस्पतालको व्यवहार र सेवा गुणस्तरका बारेमा चर्को आलोचना गरेका छन् । विराटनगर पोखरियाका विक्रम कार्कीले आफ्नी छोरीलाई दाँत निकाल्न अस्पताल लगेका बेला चिकित्सकले झापड हानेको बताए ।
उपचारको क्रममा बालिका डराएर रोइकराइ गर्न थालेपछि त्यहाँ कार्यरत दन्त चिकित्सक डा. निमिसा दासले झर्को मान्दै बालिकामाथि झापड प्रहार गरेको आरोप उनले लगाएका छन् । कार्कीका अनुसार उक्त घटना बालिकाकी आमाकै सामुन्ने भएको हो । जसले परिवारलाई थप आहत बनाएको छ ।
कार्कीले भने, ‘बालिकाले दाँत फुकाल्न गाह्रो मानेर रोइकराइ गर्नु स्वाभाविक हो । यस्तो अवस्थामा फकाएर वा अर्को चिकित्सक बोलाएर उपचार गर्न सकिन्थ्यो । तर, डाक्टरले हात हाल्न किन पर्यो ? झर्को मान्नुपर्ने के कारण थियो ? डाक्टरको काम बिरामीलाई सेवा दिने हो, पीडा थप्ने होइन ।’
घटनापछि उनले अस्पताल प्रशासनलाई जानकारी गराउने प्रयास गरेको बताए । कार्कीले मेडिकल सुप्रिटेन्डेन्ट डा. रामनारायण चौधरीसँग भेट गरी घटनामा संलग्न चिकित्सकलाई राखेर स्पष्ट संवाद गर्न चाहेको बताए । तर, मेसु चौधरीले सुरुमा व्यस्तता देखाउँदै भेट्न आनाकानी गरेको र पछि ‘घटनामाथि निगरानी राख्ने’ आश्वासन दिएको कार्कीको भनाइ छ ।
उनले भने, ‘हामी अस्पताललाई सहयोग गर्ने, यहीँका बासिन्दा हौं । तर, चिकित्सकहरूको आन्तरिक तनाव बिरामीमाथि किन पोखिन्छ ? यस्तो अवस्थामा बिरामीले कसरी सुरक्षित र सहज उपचार पाउँछन् ?’ । यस विषयमा बुझ्न खोज्दा डा. दाससँग भने सम्पर्क हुन सकेन ।
यो घटना सार्वजनिक भएको अघिल्लो दिन अर्थात् बुधबार मात्रै स्वास्थ्य मन्त्री निशा मेहताले कोशी अस्पतालको अनुगमन गर्दै सुशासन र उपचार सेवामा सहजता ल्याउन निर्देशन दिएकी थिइन् । मन्त्रीको निर्देशनको भोलिपल्टै यस्तो घटना बाहिर आउनु स्वयं अस्पताल प्रशासन र चिकित्सकको कार्यशैलीमाथि प्रश्न खडा गर्ने विषय बनेको छ ।
घटना बाहिरिएपछि सामाजिक सञ्जालमा तीव्र आलोचना भइरहेको छ । बाल अधिकार र स्वास्थ्य सेवा आचारसंहिताको उल्लंघन भएको भन्दै दोषीमाथि कारबाहीको माग बढ्दो छ ।
यसैबीच, अस्पतालका मेडिकल सुप्रिटेन्डेन्ट डा. रामनारायण चौधरीले सरकारको पछिल्लो निर्णयका कारण अस्पताल सञ्चालनमै अन्योल उत्पन्न भएको बताए । उनले सातामा दुई दिन बिदा दिने सरकारको अस्पष्ट निर्णयले कार्यतालिका मिलाउन समस्या भएको उल्लेख गरे ।
‘अस्पताल प्रशासनसँगै चिकित्सकहरु पनि तनावमा छन् । त्यही तनावका कारण सामान्य घटना भएको हुन सक्छ । थप विषय बुझ्दैछौं,’ उनले भने । चौधरीका अनुसार राजपत्रमा उल्लेखित बिदा र सरकारले पछिल्लो समय लिएको निर्णयबीच स्पष्टता नहुँदा अस्पताल प्रशासन अलमलमा परेको छ ।
‘स्वास्थ्य मन्त्रालयले स्पष्ट निर्देशन दिएको छैन । कहिले दुई दिन बिदा, कहिले आइतबार आधा दिन भन्ने कुरा आउँछ । यस्तो अवस्थामा अस्पतालको सेवा कसरी निरन्तर सञ्चालन गर्ने भन्नेमा हामी अन्योलमा छौं,’ उनले भने । डा. चौधरीले थपे, ‘सरकारको अस्पष्टताका कारण चिकित्सक तथा स्वास्थ्यकर्मीहरू मानसिक दबाबमा छन् । यस्तो अवस्थाले काम गर्ने वातावरणमै असर परेको छ । जसको प्रभाव अन्ततः सेवा प्रवाहमा देखिन सक्छ ।’



















