कोशी सरकारको पत्रकार पुरस्कार : राजनीतिक भागबन्डा र मन्त्रीको ‘लिस्ट’ले सधैं विवादित

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २३, बुधबार १९:२२

विराटनगर । कोशी प्रदेश सरकारले वितरण गर्ने प्रादेशिक पत्रकारिता पुरस्कार बर्सेनि विवादमा परिरहेको छ । राजनीतिक भागबन्डा र मन्त्रीको गोजीबाट निस्किने ‘लिस्ट’का कारण पत्रकारिता पुरस्कार विवादमा परिरहेको हो ।

योग्यता र सक्रियताभन्दा पनि राजनीतिक भागबन्डा एवं निकटताका आधारमा पुरस्कार वितरण गर्ने परिपाटीले सधैं प्रदेश सरकारको आलोचना हुने गरेको छ । यसवर्ष पनि पुरस्कार वितरणको तयारीलाई लिएर विवाद उत्पन्न भएको छ । सक्रिय एवं अग्रज पत्रकारहरुले सरकारको तयारीको विरोध गरिरहेका छन् ।

Advertisement

यसवर्ष पनि राजनीतिक भागबन्डा र मन्त्रीको निकट रहेका पत्रकारलाई पुरस्कार दिने तयारी गरिएको पत्रकारहरु बताउँछन् । ‘राजनीतिक भागबन्डाले योग्यता र सक्रियतालाई छायामा पार्यो । त्यहाँमाथि मन्त्रीको गोजीबाट निस्किने ‘लिस्ट’ सधैं हाबी हुन्छ,’ एक जना अग्रज पत्रकारले भने ।

राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा बिहीबार प्रदेश सरकारले पत्रकार सम्मान तथा पुरस्कार प्रदान गर्दैछ । २५ वर्ष पत्रकारिता क्षेत्रमा योगदान गरेका पत्रकारहरुका लागि प्रदान गरिने पुरस्कारको राशि जनही १ लाख रुपैयाँ छ । पुरस्कार प्राप्त गर्न २५ वर्ष पत्रकारिता क्षेत्रमा योगदान दिएको हुनुपर्ने लगायतका मापदण्ड बनाइएको थियो ।

मापदण्ड अहिले कार्यान्वयनमा छैन । २५ वर्षभन्दा कम समय पत्रकारिता गरेकालाई पुरस्कार दिने तयारी गरिएको विषय पनि विवादमा तानिएको छ । अर्कोतर्फ आर्थिक हिसाबले पीडित रहेका र लामो समयदेखि रोगले थलिएका एवं दुर्घटनामा परेर खर्च अभावमा प्रभावकारी उपचार गराउन नसकेका पत्रकारलाई पुरस्कार वितरण गर्नुपर्ने आवाज पनि उठिरहेको थियो । तर, त्यसलाई बेवास्ता गर्दै आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीले हस्तक्षेप गरेपछि पुरस्कार वितरण प्रक्रिया विवादमा परेको हो ।

प्रदेश सरकारले २०७४–०७५ बाट २५ वर्ष भन्दा बढी समय पत्रकारितामा योगदान दिएका अग्रज पत्रकारलाई सम्मान गर्न कार्यक्रम ल्याएको थियो । पछिल्लो समय भने यो पुरस्कार भागबन्डा र आसेपासेमा केन्द्रित भइरहेको छ ।

यो वर्षका लागि प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले गठन गरेको समितिले सम्मानका लागि ६ जनाको नाम सिफारिस गरेको थियो । सिफारिसअघि समितिमा पटकपटक छलफल भएको थियो । समितिले सिफारिस गरेको नामबाहेक मन्त्री पराजुलीले दुई जनाको नाम थप गरेका छन् ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालकी उपसचिव उर्मिलादेवी निरौलाका अनुसार रेजिना गौतम (ताप्लेजुङ), सिद्धराज राई (धनकुटा), मनोज श्रेष्ठ (सोलुखुम्बु), शेखर रेग्मी (मोरङ), ठालुप्रसाद (विवेक) गौतम (मोरङ), गोपालबहादुर खत्री (सुनसरी), श्यामसुन्दर सुतिहार (मोरङ) र सन्तोष रुचाल (धनकुटा)लाई पुरस्कार प्रदान गर्ने निर्णय भएको छ । उनले मन्त्रालयस्तरीय निर्णयका आधारमा पत्रकारको नाम छनोट गरिएको बताइन् ।

छनोट समिति स्रोतका अनुसार सुतिहार र रुचालको नाम मन्त्रीले थप गरेका हुन् । त्यसबाहेक समितिबाट सिद्धराज राईको नाम पनि मन्त्रीकै जोडबलमा सिफारिस भएको हो । ‘राष्ट्रिय समाचार समिति (रासस)को महाप्रबन्धकबाट भर्खरै बाहिरिनु भएका सिद्धराजलाई मन्त्री पराजुलीले नै जोडबल गरेपछि सिफारिस गर्न बाध्य हुनु परेको हो । तर, मन्त्रालय पुगेपछि दुई जनाको नाम थप्नु भएछ,’ स्रोतले भन्यो, ‘लामो समय लोगदान गरेका अग्रज पत्रकारलाई सम्मान गर्ने उदेश्य थियो । अहिले भागबन्डा र मन्त्रीको ‘लिस्ट’का आधारमा पुरस्कार वितरण हुँदैछ ।’

विशेष गरेर पुरस्कृत हुन लागेका राईलाई राजनीतिक भागबन्डाका आधारमा सधैं अवसर दिने गरिएको भनेर विरोध भइरहेको छ । राई र रुचाल मन्त्री पराजुलीको गृहजिल्ला धनकुटाका हुन् । रुचालको ठाउँमा धरानका सक्रिय पत्रकार रणध्वज लोहारको नाम पनि चर्चामा थियो ।

लोहार दुर्घटनामा परेर लामो समयदेखि उपचाररत छन् । उनको पारिवारिक आर्थिक अवस्था पनि कमजोर छ । लोहारलाई पुरस्कार दिनुपर्ने आवाज उठेको भए पनि त्यसलाई मन्त्री पराजुलीले अस्वीकार गरेको र आफूनिटकलाई पुरस्कार दिलाउन लागेको स्रोतको भनाइ छ ।

स्रोतका अनुसार यो पुरस्कार वितरणमा मुख्यमन्त्री हिक्मतकुमार कार्की पनि हाबी हुने गरेका छन् । विगतमा आफूनिकटलाई पुरस्कार दिलाउन लागेका कार्कीले यसवर्ष भने खासै हस्तक्षेप नगरेको स्रोतको भनाइ छ ।

प्रदेश सरकारले वितरण गर्ने पुरस्कारमा भागबन्डा नयाँ होइन् । २०८१–०८२ को बजेटमा उल्लेख भएको सम्मान प्रदान गर्दा भागबन्डा भएको थियो । २०८२ साल वैशाखमा छनोट समितिले ५ जनाको नाम सिफारिस गरेको थियो । त्यतिबेला पनि पछि दुई जनाको नाम थप गरिएको थियो ।

गतवर्ष झापाका चिन्तामणि दाहाल, मोहनकाजी न्यौपाने, विमल लामिछाने, धनकुटाका राजेश्वर श्रेष्ठ, सुनसरीकी यसोदा सेने, मोरङका मोहम्मद सदरुल, मनोज दाहाललाई जनही १ लाखका दरले पुरस्कार वितरण गरिएको थियो । प्रदेश सरकारले २०७४–०७५ बाट प्रत्येक वर्ष दुई जनाका दरले अग्रज पत्रकारलाई सम्मान गर्ने निर्णय गरेको थियो ।

२०७६ सालमा प्रदेश सरकारले एकै पटक चार जनालाई पुरस्कार वितरण गरेको थियो । त्यतिबेला अघिल्लो वर्षको पनि पुरस्कार वितरण गरिएको हो । त्यसबेला प्रदेश सरकारले राजकुमार कार्की, नकुल काजी, हर्ष सुब्बा र चन्द्र भण्डारीलाई पुरस्कृत गरेको थियो ।

२०७७–०७८ सालदेखि भने चार जनालाई वितरण गर्ने निर्णय भएको थियो । २०७७–०७८ सालमा प्रदेश सरकारले प्रादेशिक पत्रकारिता पुरस्कार झापाका गोविन्दचन्द क्षेत्री, गञ्जबहादुर दाहाल, मोरङकी पत्रकार ललिता भट्टराई र उदयपुरका कौशल चेम्जोङलाई प्रदान गरेको थियो ।

२०७९–०८० मा सुनसरीका राजेशकुमार यादव, इलामका सटेन्द्रकुमार जबेगू र सोमनाथ अधिकारी, झापाकी अम्बिका भण्डारीलाई सम्मान गरियो । त्यसपछि भने संख्या थप गरिएको हो ।

२५ वर्षदेखि सक्रिय पत्रकारिता गरेका पत्रकारलाई प्रदान गरिने यो पुरस्कार २०८०–०८१ मा अनन्तराज न्यौपाने (मोरङ), भीमलाल नेम्वाङ (झापा), रमेशचन्द्र अधिकारी (धनकुटा), महेश्वर चाम्लिङ राई (उदयपुर) र प्रेमबहादुर दिलायी (सुनसरी)लाई प्रदान गरिएको थियो । बर्सेनि राजनीतिक भागबन्डामा केन्द्रीत भएर नाम छनोट गरिएको भन्दै प्रदेश सरकारको आलोचना भइरहेको छ ।

मन्त्री पराजुलीले भने छनोट समितिबाट समावेशी नाम नआएका कारण दुई जनाको नाम थप गरिएको दाबी गरे । ‘समितिबाट समावेशी नाम आउन सकेन । पुरस्कार वितरणलाई समावेशी बनाउन पछि दुई जनाको नाम थपिएको हो,’ उनले भने ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.