
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई)को पूरक तथा ग्रेडवृद्धि परीक्षाको नतिजा दुई साताभित्र सार्वजनिक गर्ने तयारी गरेको छ।
बोर्डका अनुसार आगामी असार १ देखि ९ गतेसम्म सञ्चालन हुने पूरक परीक्षापछि उत्तरपुस्तिका परीक्षण र अन्तिम प्रक्रिया पूरा गरी असार २५ गतेभित्र नतिजा प्रकाशित गर्ने लक्ष्य राखिएको छ । परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार परीक्षा सम्पन्न भएको करिब दुई साताभित्र नतिजा निकाल्ने अभ्यास अपनाइनेछ । उनले एसईई २०८२ को मूल नतिजा एक महिनाभित्र सार्वजनिक गरिएको स्मरण गराउँदै पूरक नतिजा पनि छिट्टै निकाल्ने तयारी भइरहेको बताए ।
यस वर्ष एसईईमा करिब एक लाख ४६ हजार ५०७ विद्यार्थी ‘ननग्रेडेड’ भएका थिए । तीमध्ये ‘सी’ ग्रेडभन्दा कम प्राप्त गर्ने विद्यार्थीहरू पूरक परीक्षामा सहभागी हुन योग्य हुने व्यवस्था गरिएको छ ।
तर, पूरक परीक्षामा सहभागी हुने विद्यार्थीको अन्तिम संख्या भने अझै यकिन हुन बाँकी रहेको बोर्डले जनाएको छ । बोर्डले नतिजा समयमै निकालेर विद्यार्थीलाई आगामी अध्ययन योजनामा ढिलाइ नहोस् भन्ने लक्ष्य राखेको छ ।



















