इटहरीमा ४ हजार क्षमताको ‘विन्धम रिसोर्ट एन्ड कन्भेन्सन सेन्टर’ बन्ने

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ २८, बिहीबार १०:०६
इटहरीमा ४ हजार क्षमताको ‘विन्धम रिसोर्ट एन्ड कन्भेन्सन सेन्टर’ बन्ने

इटहरी । कोशी प्रदेशकै पर्यटन र आतिथ्यता क्षेत्रमा ठुलो परिवर्तन ल्याउने गरी इटहरीमा अन्तर्राष्ट्रिय स्तरको ‘एबी हस्पिटालिटी विन्धम रिसोर्ट एन्ड कन्भेन्सन सेन्टर’ निर्माण हुने भएको छ । एकै पटक चार हजार मानिस अटाउने क्षमताको यो सेन्टर कोशी प्रदेशकै सबैभन्दा ठुलो र अत्याधुनिक रिसोर्ट तथा सम्मेलन केन्द्र हुनेछ ।

परियोजनाको निर्माणका लागि आवश्यक वित्तीय व्यवस्थापनको काम सम्पन्न भएको छ । एभरेस्ट बैंक लिमिटेड र मुक्तिनाथ विकास बैंक लिमिटेडको सहकार्यमा यस परियोजनाको वित्तीय समापन गरिएको हो ।

Advertisement

एबी इन्भेस्टमेन्ट होल्डिङका अध्यक्ष देशबन्धु बस्नेतको नेतृत्वमा यो परियोजना अघि बढाइएको हो । बस्नेतले यसअघि नै काठमाडौंमा ‘मक्र्योर’ र इटहरीमा ‘रामाडा बाई विन्धम’ जस्ता पाँच तारे होटेल सञ्चालनमा ल्याइसकेका छन् । इटहरीको भाटभटेनी नजिकै बन्ने यो कन्भेन्सन सेन्टर उनको तेस्रो अन्तर्राष्ट्रिय स्तरको महत्त्वाकाङ्क्षी परियोजना हो ।

अन्तर्राष्ट्रिय केन्द्रले नेपाल मात्र नभई छिमेकी राष्ट्र भारत, भुटान र बंगलादेशका पर्यटक तथा आयोजकहरूलाई समेत आकर्षित गर्ने लक्ष्य राखेको छ । अहिले भारतीय पर्यटकहरू घुमफिर र विवाह समारोहका लागि समेत नेपाल आउने गरेका छन् । रिसोर्ट सहितको उक्त सम्मेलन गर्न निर्माण भएपछि त्यस्ता भारतीय पर्यटकहरूको आगमन झन बढ्ने अपेक्षा गरिएको बस्नेतले बताएका छन् । साथै, दक्षिण एसियाली देशहरूबाट हुने अन्तर्राष्ट्रिय समारोह तथा सम्मेलनका लागि समेत उक्त सम्मेलन केन्द्र उपर्युक्त हुने देखिएको छ ।

परियोजनाले हजारौँ प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी सिर्जना गर्नुका साथै स्थानीय कृषि उत्पादन र व्यवसायलाई समेत टेवा पुर्‍याउने छ । इटहरी–विराटनगर–धरान कोरिडोरमा पर्ने यो केन्द्रबाट कोशीटप्पु, भेडेटार र टिएमजे जस्ता पर्यटकीय क्षेत्रहरू नजिक रहेकाले आगन्तुकहरूले पर्यटकीय लाभ समेत लिन सक्ने छन् ।

यो केवल एउटा होटेल मात्र नभई पूर्वी नेपालको आर्थिक विकास, निजी क्षेत्रको लगानी विस्तार र पर्यटन उद्योगको समग्र रूपान्तरणको आधार स्तम्भ हुने, बस्नेतले भने । यो सेन्टरको निर्माणसँगै पूर्वी नेपाल दक्षिण एसियाकै एक उदीयमान पर्यटन र व्यावसायिक केन्द्रका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.