कांग्रेसले ७७ जिल्लामा पठायो केन्द्रीय प्रतिनिधि, प्राथमिकतामा युवा

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार १०, बुधबार १३:३९

काठमाडौं । नेपाली कांग्रेसले आगामी १५औँ महाधिवेशनको तयारीलाई तीव्र बनाउँदै नयाँ क्रियाशील सदस्यता वितरण अभियान सञ्चालन गर्न देशका ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ । प्रतिनिधिमा युवालाई प्राथमिकता दिइएको छ । पार्टीले यसपटक सदस्यता विस्तार अभियानमा विशेषगरी ३५ वर्षमुनिका युवाको अधिकतम सहभागिता सुनिश्चित गर्ने लक्ष्य अघि सारेको छ ।

कांग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिको निर्णयअनुसार प्रतिनिधि खटाइएको हो । पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले बुधबार जारी गरेको विज्ञप्तिमार्फत प्रतिनिधिहरूले असार ७ गतेदेखि २० गतेसम्म सम्बन्धित जिल्लामा पुगेर सदस्यता वितरण, समन्वय तथा सहजीकरणको जिम्मेवारी निर्वाह गर्ने जानकारी दिएका छन् ।

Advertisement

विज्ञप्तिमा नयाँ क्रियाशील सदस्यता वितरण प्रक्रियालाई युवामैत्री बनाउँदै ३५ वर्षमुनिका पुस्ताको उल्लेखनीय प्रतिनिधित्व सुनिश्चित गर्ने उद्देश्य रहेको उल्लेख गरिएको छ । कांग्रेसले महाधिवेशनको आधार तयार पार्ने महत्वपूर्ण अभियानका रूपमा सदस्यता वितरणलाई अघि बढाएको जनाएको छ ।

कोशी प्रदेशमा ताप्लेजुङका लागि हिमालय कर्माचार्य, पाँचथरमा उमा शिवाकोटी, इलाममा यदु विष्ट, झापामा राजीव कोइराला, मोरङमा सुधीरकुमार शिवाकोटी, सुनसरीमा कुमार लुइँटेल, धनकुटामा नगेन्द्र कुमाल, उदयपुरमा दिनेशकुमार यादव, भोजपुरमा दीपनकुमार श्रेष्ठ, तेह्रथुममा मेदिनीप्रसाद सिटौला, संखुवासभामा रुद्र कन्दङ्वा, सोलुखुम्बुमा लक्ष्मी परियार, खोटाङमा दीपक अधिकारी र ओखलढुंगामा आङ्गेलु शेर्पालाई प्रतिनिधि बनाइएको छ ।

मधेश प्रदेशका सप्तरीमा रामपल्टन साह, सिरहामा रामकुमार यादव, धनुषामा सुवासकुमार पोख्रेल, महोत्तरीमा शम्भुलाल श्रेष्ठ, सर्लाहीमा अनिलकुमार झा, रौतहटमा प्रमोदहरि गुरागाईं, बारामा मथुराप्रसाद घिमिरे र पर्सामा उज्ज्वलप्रसाद बराल खटाइएका छन् ।

बागमती प्रदेशअन्तर्गत काठमाडौंमा सहमहामन्त्री उदयशमशेर राणा, ललितपुरमा मनोजमणि आचार्य, भक्तपुरमा राजेन्द्रकुमार केसी, रसुवामा ईश्वर अधिकारी, नुवाकोटमा वंशलाल तामाङ, धादिङमा सुशील भट्ट, चितवनमा डा. केदारनरसिंह केसी, मकवानपुरमा बद्रीप्रसाद अर्याल, काभ्रेपलाञ्चोकमा शिव सुनार, सिन्धुपाल्चोकमा इच्छु राना, सिन्धुलीमा डा. मुकेश काफ्ले, रामेछापमा सीता मिजार र दोलखामा ओम घर्तीमगरलाई जिम्मेवारी दिइएको छ ।

गण्डकी प्रदेशमा गोरखाका लागि तिलक रानाभाट, लमजुङमा कृष्णबहादुर केसी, तनहुँमा कुसुमदेवी थापामगर, मनाङमा मनकुमारी गुरुङ, मुस्ताङमा जगदीश उपाध्याय, म्याग्दीमा छन्दबहादुर पहराई, बागलुङमा जितनारायण श्रेष्ठ, पर्वतमा रेशमबहादुर बानियाँ, कास्कीमा विष्णुदेवी पाण्डे, स्याङ्जामा दीपक भट्टराई र नवलपुरमा डा. गोपाल दहितलाई जिम्मेवारी दिइएको छ ।

लुम्बिनी प्रदेशअन्तर्गत रुकुम (पूर्व)मा भीम श्रीष, रोल्पामा किरणकिशोर घिमिरे, प्युठानमा टेकराज पौडेल, दाङमा राधेश्याम पाठक, बाँकेमा महेन्द्र शर्मा, बर्दियामा सुरेन्द्रप्रसाद चौधरी, अर्घाखाँचीमा राजेन्द्रगोपाल सिंह, गुल्मीमा हरि आचार्य, पाल्पामा मुना भुसाल, रुपन्देहीमा नारायणप्रसाद भट्टराई, कपिलवस्तुमा प्रदीपराज शर्मा र पश्चिम नवलपरासी (परासी)मा केशवप्रसाद निरौलालाई प्रतिनिधि बनाइएको छ ।

कर्णाली प्रदेशमा हुम्लाका लागि सूर्यबहादुर विक, जुम्लामा तपेन खड्का, मुगुमा युवराज पाण्डे, कालिकोटमा कमलराज रेग्मी, डोल्पामा बलदेव तिमिल्सिना, दैलेखमा तीर्थजंग शाही, सुर्खेतमा लेखनाथ पोख्रेल, सल्यानमा केशवराज आचार्य, जाजरकोटमा छाया सुनार र रुकुम पश्चिममा नारायण कोइरालालाई खटाइएको छ ।

सुदूरपश्चिम प्रदेशमा अछामका लागि जगतप्रसाद जोशी, बझाङमा विजयबहादुर स्वार, बाजुरामा गणेशराज भट्ट, डोटीमा हिमबहादुर रावल, डडेल्धुरामा सम्झना खत्री, दार्चुलामा सन्तोषी साउद ऐरी, बैतडीमा सुशीला मिश्र भट्ट, कञ्चनपुरमा दिलेन्द्रप्रसाद बडू तथा कैलालीमा मधु आचार्यलाई केन्द्रीय प्रतिनिधिको जिम्मेवारी दिइएको छ ।

पार्टी नेतृत्वले सदस्यता विस्तार अभियानलाई महाधिवेशनको पूर्वतयारीको महत्वपूर्ण आधारका रूपमा लिएको छ । कांग्रेसले युवा पुस्ताको सहभागिता बढाएर संगठनलाई थप गतिशील र समावेशी बनाउने लक्ष्यसहित देशव्यापी अभियान सञ्चालन गर्न लागेको जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.